माघ २ सुर्खेत (खजुरा) । संस्कृति भनेको मानव सभ्यताको पहिचान दिइराख्ने माध्यम हो । संस्कृति नै सङ्कटमा पर्न थालेपछि भने मान्छेको आफ्नो खास परिचय पनि गुम्न पुग्छ । यस्तै समस्याको सामना गरिरहेको छ पश्चिम नेपालको थारु जाति ।
कुनै बेला सांस्कृतिकरूपमा सबैभन्दा धेरै धनी मानिँदै आएको थारु जातिमा आफ्नै भाषा, साहित्य, परम्परा र जीवनशैली थियो तर अहिले ती सबै इतिहासमा मात्र सीमित हुन थालेका छन् ।
थारु समुदायको वेशभूषा बदलिएको छ । जीवनशैली परिर्वतन हुँदैछ । नयाँ पुस्ताका युवायुवती त थारु समुदायका हुन् वा होइनन् भनी ठम्याउन गाह्रो पर्न थालेको छ ।
एक तथ्याङ्कअनुसार पश्चिम नेपालमा थारु जातिको जनसङ्ख्या करिब ३० लाख रहेको छ । बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, दाङ र सुर्खेत जिल्लामा थारु जातिको बाहुल्यता छ ।
वेशभूषा, रहनसहन, भाषा शैली र अन्य विभिन्न सांस्कृतिक पहिचानहरूका कारण पश्चिम नेपालका अन्य जातिभन्दा थारु जातिको सांस्कृतिक स्थिति बलियो थियो । तर अहिले यी सबै सांस्कृतिक पक्षहरू सङ्कटमा पर्न थालेका छन् ।
थारु जातिको पहिचान गराउने सांस्कृतिक कार्यक्रमहरूको आयोजना नहुँदा र विभिन्न चाड पर्वमा आयोजना गरिने परम्परागत नाचहरू प्रदर्शन नगरिँदा अहिले थारु जातिको पहिरन र कला लोप हुने अवस्थामा छन् ।
यस जातिको एउटा महत्वपूर्ण नाच बुर्का लोप नै भइसक्यो । बरका नाच आजभोलि देखिन छाडेको बताउँछन्, सञ्चारकर्मी एकराज चौधरी ।
थारु संस्कृति लोपोन्मुख अवस्थामा पुगेको उनको धारणा छ । सस्ता भारतीय फिल्मले थारु संस्कृतिमा निरन्तर अतिक्रमण गरिरहेकाले थारु र अन्य जातिका संस्कृति बिलाउन लागेको सञ्चारकर्मी चौधरीको भनाइ छ ।
तरबार, ढोल, मादल, मुजराको प्रयोग गरीे पुरुषहरू महिलाको भेषमा नाच्ने बरका नाच थारु समुदायको एक ऐतिहासिक नाच हो ।
त्यस्तै दशैंमा नाचिने सखिया नाच पनि अब सङ्कटमा पर्न थालेको समाज सुधार सहकारी संस्था बासगढी बर्दियाका अध्यक्ष रजमान थारु बताउँछन् ।
महिला र पुरुष मिलेर पिठ्यँुमा मयुरको प्वाँख भिरी नाचिने लठवा नाच भने काठमाडाँैंबाट आउने विशिष्ट व्यक्तिको स्वागतार्थ देखाउन जीवित राखेको पाइन्छ ।
मुङ्ग्रवा र नाच नचुवाजस्ता केही कम प्राथमिकताका नाचहरू भने यदाकदा समुदायमा देखिने गरेका छन् । तिनको व्यवस्थापन पनि विगत वर्षहरूभन्दा फितलो हुँदै गएको देखिन्छ ।
थारु भाषामा चलचित्रहरू बन्ने क्रम हालैका दिनहरूमा बढे पनि थारु जातिको मौलिक संस्कृतिलाई झल्काउने, जगेर्ना गर्ने र विस्तार गर्ने कुनै गतिलो प्रयास भएको देखिँदैन ।