Responsive Ad Slot

latest

भारतीय दुतावासले मलाई ४ करोडमा किन्न खोजेको थियो ÷नायक निर्माता नवल खड्का I

Saturday, February 18

/ by Admin BHOLA THAPA
रवि रोषी
दोहा फागुन ६ गते ।
२०३२ असार ३ गते खोटाङको सिमपानीमा जन्मिएका नवल खड्का कलाकारिता क्षेत्रमा होमिएको १५ बर्ष भईसक्यो । चन्द्रसुर्य, अधुरो प्रेम जस्ता काँचको पर्दाबाट आफ्नो अभिनय यात्रा सुरु गरेका खड्का २०५३ मा आएर ठूलो पर्दाको चलचित्र गुन्युँचोली बाट आफुलाई नायकको रुपमा नेपाली फिल्मी बजारमा प्रस्तुत गरे । क्रान्ति, देशद्रोही, विश्वाशघात, मनै त हो, तिम्रै लागि, किन माया लाएछु जस्ता दर्जनौँ चलचित्रमा नायकको भूमिका निर्वाह गरिसकेका खड्का पछिल्लो समयमा निर्माताको रुपमा पनि आफुलाई दर्ज गराएका छन् । नायक र निर्माताको रुपमा निर्माण गरिएका चलचित्रहरुमा माया बसेछ, आवाज, दशगजा रहेका छन् भने मनै त हो, आवाज र दशगजाको कथा भने उनी आफैँले लेखेका छन् । नेपाल चलचित्र महासंघको महासचिव पदमा समेत रहेका खड्काले निर्माण गरेको पछिल्लो चलचित्र दशगजा धेरै विवादमा पनि रह्यो । यही आउँदो २४ फेब्रुअरी शुक्रवारका दिन दोहाको गल्फ सिनेमा हलमा चलचित्र दशगजा प्रदर्शनको लागि आएका खड्काले दशगजा निर्माण कार्यको समय देखि सेन्सर बोर्डले दिएको दुख लगायत भारतीय दुतावासको आडमा तथाकथित केहि व्यक्तिहरुले आफ्नो ज्यान माथि धावा बोलेको कुराहरु यसरी बताउँछन् ।



नेपाली सार्वभौमसत्ता, राष्ट्रिय अखण्डता र राष्ट्रिय स्वाधिनताको परिधीभित्र आधारित भएर निर्माण गरिएको चलचित्र दशगजा लगायत उक्त चलचित्रका नायक तथा निर्माता खड्काले विभिन्न ब्यक्ति तथा संस्थाहरुबाट आफुलाई ठूलो मानसिक यातना दिने काम भएको उनले जनाए । चलचित्रको कथामा समेटिएको विभिन्न सम्वादहरुले भारत र नेपाल बीचको दौत्य सम्बन्धमा खलल पुग्ने भनी एउटै चलचित्रलाई सेन्सरबोर्डले ४, ४ पटक सेंसर पास हुनबाट बञ्चित गराएको दुखेसो पोखे । नेपालको नवलपरासी जिल्लाको सुस्ता क्षेत्रको कैयौँ नेपाली भूभाग भारतबाट अतिक्रमण भएको सत्य घटनालाई स्थलगत छायांकन गरी जीवन्तता दिन भनी छायाँकनको लागि सुस्ता क्षेत्रमा गएको अवस्थामा भारतीय सीमा सुरक्षा बलले हाम्रो सुटिङ युनिट माथि रोक लगाउने उर्दी लगाउँदै हामी माथि बन्दुक तेस्र्याईएको थियो । नेपालको भूभागभित्र छायांकन गर्न लागिएको उक्त चलचित्र छायांकनको घटनालाई सञ्चारमाध्यमहरुले बजारमा ल्याए पनि सरकार निर्लज्ज भएर मुन्टो निहुराएर बस्नु जो कोहि स्वाभिमानी नेपालीलाई दुख लाग्नु स्वभाविकै थियो । उल्टो मलाई भारतबिरोधी गतिविधीमा लागेका पाकिस्तानीहरुको आर्थिक सहयोग लिएर चलचित्र दशगजा निर्माण गर्न लागिएको भनेर विभिन्न आरोप, प्रत्यारोप लगाएर दोषी ठहर गर्ने धेरै दुष्प्रयास गरियो । अन्ततः त्यस सम्बन्धमा सत्यता फेला नपरेपछि मलाई हतोत्साही बनाउन फोन मार्फत तथा प्रत्यक्ष रुपमा तेरो पछाडि भारतीय सञ्जाल र लागेको छ , होशियार रहनु भन्ने धम्कीको भाषा प्रयोग गर्न थालियो भने एकाथरि गिरोहले मोटरसाईकलमा पिछा गरी मेरो हरेक क्रियाकलापमा निगरानी राख्न थाले । जमीम शाहको कसरी हत्या भएको थियो ? जेल भित्र गोली हान्न सक्ने देशमा खुल्लमखुल्ला हिँड्ने मलाई कुनै पनि समयमा केहि गर्न सकिने चेतावनी पनि दिन पछि परेनन् ।
विभिन्न पत्रपत्रिका, टेलिभिजनबाट प्रसारित समाचार तथा इतिहासविद र भूगोलविदहरुको लेख तथा भनाईलाई आफुले कथामा ढालेर निर्माण गर्दै गरेको चलचित्रको कारण म आफ्नै जन्मभूमि भित्र भारतीय दुतावासको तारो भएको थिएँ । चलचित्रको हार्डडिस्क बिग्रिएको कारणले चलचित्र प्रदर्शन गर्न नसकिने भनी पत्रकार सम्मेलन गरी सार्वजनिक गरे बापत भारतीय दुतावासबाट ४ करोड दिने प्रलोभन पनि मलाई अरु कोहिको माध्यमबाट प्रत्यक्ष रुपमा राख्न आएको प्रस्तावलाई सहज रुपमा अस्वीकार गरी उनीहरुलाई रित्तो हात फर्काईदिएको थिएँ । चलचित्र दशगजा आफुले पैसा कमाउन निर्माण नगरेको भन्दै अस्वीकार जनाएपछि उनीहरुको समूह पछि हटे । ३ करोड नेपालीहरुको स्वाभिमानलाई म एक जनाले ४ करोड रुपैँयमा सम्झौता गर्नु त्यो भन्दा मेरो दुर्भाग्य र देशघाती काम केहि नहुने ठानेपछि मैले ठाडो रुपमा अस्वीकार गर्दै आफु मर्नै परेपनि चलचित्रलाई जसरी पनि प्रदर्शन गरी छाड्ने निधो गरेँ ।
नेपालको विभिन्न ६३ स्थानमा च्यारिटी शो मात्र गरिसकिएको बताउँदै च्यारिटी शो कै क्रममा एउटा टिकट ५० हजार सम्म बिक्री भएको पनि उनले बताए । २०६८ बैशाख ९ गते काठमाण्डौँ लगायत विभिन्न जिल्लामा ६ हप्ता सम्म चल्न सफल रहेको सो चलचित्रको मागलाई मुलूक बाहिर रहेका प्रवासी नेपाली साथीहरुले पनि माग गरेपछि थाइलैण्डमा प्रदर्शनी गरेँ । जसबापत उठेको ३ लाख बराबरको रकम मिर्गौला रोगी पत्रकार बिचरी चाम्लीङलाई सहयोग प्रदान गरेर पनि मैले आफ्नो आम्दानीबाट मानव कल्याणमा खर्चेको छु उनले बताए । हङकङमा प्रदर्शनी सकेर हाल कतारमा प्रदर्शन गरे लगत्तै दुवई, सिंगापुर, मलेशिया र अमेरिकामा पनि प्रदर्शन गर्ने निश्चित भईसकेको बताउने खड्का नितान्त नेपाल भूमिलाई माया गर्ने जो कोहि नेपाली दाजुभाइहरुले यो चलचित्र नछुटाउने जिकीर गरे । नेपालकै चलचित्र निर्माणको इतिहासमा हालसम्म नेपाली राष्ट्रियताको वकालत गर्दै निर्माण गरिएको चलचित्र यो मात्र रहेको भन्ने दावा गर्ने नायक तथा निर्माता नवल खड्काले यस चलचित्र एकपटक हेर्न कतारवासी सवैलाई अनुरोध गरेका छन् । दोहाको गल्फ सिनेमा हलमा विहान आउँदो शुक्रवार अर्थात् फेब्रुअरी २४को दिन पहिलो शो ११.३० मा र दोश्रो शो २.३० मा देखाईने भनिएको चलचित्र दशगजाको टिकट दर २० र ३० रहेको उनले जानकारी गराएका छन् ।तस्विर :राजेश्वर ढकार /तनहुँ खबर डट कम
Don't Miss
© all rights reserved
made with by netKUTI