चितवन, फागुन ६ गते ।
पश्चिम चितवनको माडीमा बोक्सीको आरोपमा एक महिलाको हिजो विहान हत्या गरिएपछि थारु कल्याणकारिणीसभा चितवनले आज माडीमा बन्द गराएको छ । बन्दका कारण माडीबाट सदरमुकाम आउने गाडीहरु चल्न सकेका छैनन् भने बजार पूर्ण रुपमा ठप्प रहेका छन् । स्थानियबासिन्दाहरु आज पनि बसन्तपुर बजारमा प्रदर्शन गरिरहेका छन् । स्थानिय महिलाहरु समुह पनि प्रदर्शनमा उत्रिएका छन् । स्थानियहरुले हत्यारालाई कार्वाही र पिडित परिवारलाई उचित क्षतिपूर्तीको माग गर्दै आज पनि शव उठाउन दिएका छैनन् । शव अहिले पनि घटना स्थलमै रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
हत्याको विरोधमा स्थानिय बासिन्दाहरु हिजो पनि माडीमा दिनभर गाडी चल्न दिएका थिएनन् । मृतकका परिवार र स्थानियहरु माडीको विभिन्न स्थानहरुमा प्रदर्शन गरेका थिए । माडी बघौडा–२ बघौडामा सोही स्थानका अन्दाजी ४० वर्षकी डेगनी महतोलाई कुटपिट गरी जलाएर हत्या गरिएको थियो । घटनामा संलग्न रहेको आशंकका प्रहरीले हिजै १० जनालाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको छ । हत्याको आरोपीहरुलाई अहिले जिल्ला प्रहरी कार्यालय भरतपुरमा राखिएको छ ।