काठमाडौँ, १७ चैत । रिपोर्टर्स क्लव नेपालले यस वर्षको ‘गिरिजाप्रसाद कोइराला स्मृति वरिष्ठ पत्रकारिता पुरस्कार’ द रिपब्लिका अङ्ग्रेजी राष्ट्रिय दैनिकका प्रधान सम्पादक अमित ढकाललाई प्रदान गर्ने भएको छ । रिपोर्टर्स क्लवको पुरस्कार छनौट समितिको हिजो बसेको बैठकले दुई दशकदेखि पत्रकारितामा सक्रिय रही निष्पक्ष पत्रकारिता, प्रेस स्वतन्त्रता र व्यावसायिक सञ्चारको पक्षमा समर्पित पत्रकार ढकाललाई एक लाख एक रुपैयाँ सहित ताम्रपत्र प्रदान गर्ने निर्णय गरेको हो ।
त्यस्तै क्लवले स्वतन्त्रता सेनानी एवम् रेडियो नेपालका संस्थापक तारिणीप्रसाद कोइरालाको स्मृतिमा स्थापित ३० हजार रुपैयाँ राशिको तारिणीप्रसाद कोइराला स्मृति पत्रकारिता पुरस्कार अन्नपूर्ण पोस्ट दैनिकका समाचार ब्युरो प्रमुख किरण पोखरेललाई प्रदान गर्ने निर्णय गरेको छ । त्यस्तै क्लवले २० हजार रुपैयाँ राशिको कृष्णसेन इच्छुक स्मृति पत्रकारिता पुरस्कार सङ्घर्ष र जोखिमको बीचबाट लामो समय पत्रकारितामा सक्रिय रहँदै प्रेस स्वतन्त्रता, लोकतन्त्र र जनपक्षीय सञ्चारको पक्षमा समर्पित एबिसी टेलिभिजनका शुभशङ्कर कँडेललाई प्रदान गरिने भएको छ ।
क्लवले २० हजार रुपैयाँ राशिको बाबुछिरी शेर्पा स्मृति फोटो पत्रकारिता पुरस्कार कान्तिपुर दैनिकका शालिग्राम तिवारी र २० हजार रुपैयाँ राशिको उमासिंह स्मृति पत्रकारिता पुरस्कार घटना र विचार साप्ताहिककी सम्पादक बबिता बस्नेतलाई प्रदान गर्ने निर्णय गरेको छ ।
रिपोर्टस क्लवले. आज दिउँसो आयोजना गरेको क्लबको १४ औ बार्षिक कार्यक्रमका अवसरमा पत्रकारहरुलाई सम्मान गर्ने कार्यक्रम रहेको अध्यक्ष ऋषि धमलाले जानकारी दिनुभयो । रिपोर्टर्स क्लवको १४ औँ वार्षिकोत्सव अवसरमा आज आयोजना गरिने कार्यक्रममा ती पुरस्कार प्रदान गरिने जनाएको छ ।