Responsive Ad Slot

latest

बिजुली बलेपछि दलित खुसी I

Friday, March 30

/ by Admin BHOLA THAPA


बर्दिवास, १७ चैत । महोत्तरी जिल्लाको बनौली दनौली–५ को दलित बस्तीमा पहिलोपटक बिजुली बलेपछि त्यहाँका बासिन्दामा खुसी छाएको छ ।

आफ्नै गाविसका अन्य बस्तीमा वर्षौंदेखि बिजुली बले पनि आफूहरू भने अँध्यारोमै बस्नु परेको बताउने त्यहाँका बासिन्दा बिहीबार साँझ आफ्नो बस्ती बिजुलीको उज्यालोले झलमल्ल भएपछि दङ्ग परेका हुन् ।

युएनडिपी÷शान्तिका लागि जीविकोपार्जन परियोजनाको रु चार लाख ५० हजार सहयोगमा बिजुलीका खम्बा गाड्ने, तार तान्ने र ट्रान्सफर्मर जडान गर्ने काम सकेको दुई वर्षपछि बिजुली बल्दा आफूहरूको मिहिनेत सार्थक भएको सो बस्तीका जीविकोपार्जन समूहका अध्यक्ष रीना महराले बताउनुभयो ।

सबै काम सकेर बिजुली प्रवाह गरिदिन नेपाल विद्युत् प्राधिकरण जलेश्वरलाई दुई वर्षअघि गरिएको आग्रह जिल्लाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेल र सभासद् कौशलकुमार रायको पहलकदमीले बिहीबार साँझ सफल हुँदा आफ्नो खुसीको सीमा नभएको त्यहाँका बासिन्दाले बताएका छन् ।

प्राधिकरण जलेश्वरले दुई वर्षदेखि प्राविधिक समस्या देखाएको गुनासो प्रजिअ कँडेल र सभासद् रायसमक्ष गरेपछि उहाँहरूको तत्परतामा आफूहरूले बिजुली बाल्न पाएको सो बस्तीको मुसलमान समुदायकी गृहिणी जोहरा खातुनले बताउनुभयो । चमार, खत्वे र मुसलमान समुदायका ३७ घरपरिवार आफूहरूको सहयोगले बिजुली सेवाबाट लाभान्वित भएको परियोजनाका महोत्तरी संयोजक सुनिल मिश्रले जानकारी दिनुभयो ।

बस्तीमा बिजुली बलेको खुसियालीमा रातभरि नाचगानसहितका मनोरञ्जनात्मक कार्यक्रम गरिएको थियो ।
Don't Miss
© all rights reserved
made with by netKUTI