तनहुँ । भानु साहित्य उद्यानको विस्तृत परियोजना प्रतिवेदन (गुरुयोजना–Master Plan) भानु नगरपालिकाको नगर कार्यपालिकाबाट स्वीकृत भएको छ। गुरुयोजनाअनुसार साहित्य उद्यानको पूर्ण निर्माणका लागि करिब रु. १ अर्ब लागत अनुमान गरिएको छ।
चालु आर्थिक वर्षमा संघीय शहरी विकास मन्त्रालयबाट रु. २० करोड बजेट विनियोजन भइसकेको छ। उक्त बजेटबाट शिखर कटेरी हुँदै रम्घा डाँडासम्मको मोटरमार्ग स्तरोन्नति (कालोपत्रेसहित) तथा ५४ फिट उचाइको भानु आचार्यको विशाल प्रतिमा निर्माण गरिने जनाइएको छ।
नगर प्रमुखको निरन्तर पहल र सम्माननीय राष्ट्रपतिको विशेष चासोका कारण गत आर्थिक वर्षमै रम्घा डाँडामा रिटेनिङ वाल निर्माण तथा आवश्यक जग्गा अधिकरण सम्पन्न भइसकेको छ। हालसम्म गुरुयोजनाका लागि करिब ४ सय रोपनी जग्गा प्राप्त भइसकेको नगरपालिकाले जनाएको छ।
भानु साहित्य उद्यानलाई राष्ट्रिय गौरवको आयोजनाका रूपमा बहुवर्षीय योजनामा समावेश गर्न आवश्यक प्रक्रिया अगाडि बढाइएको नगरपालिकाले जानकारी दिएको छ। यस अभियानमा सहयोग र चासो देखाउनु हुने सम्माननीय राष्ट्रपतिप्रति नगरपालिकाले हार्दिक धन्यवाद व्यक्त गरेको छ।
गुरुयोजना स्वीकृतिसम्बन्धी कार्यक्रममा नगर उप–प्रमुख, निमित्त प्रमुख प्रशासकीय अधिकृत धुर्वराज पौडेल, वडा अध्यक्षहरू, नगर कार्यपालिका सदस्यहरू, भानु साहित्य उद्यान विकास समितिका महासचिव वर्तराज आचार्य, उपाध्यक्ष विधान आचार्य, परामर्शदाता, शाखा प्रमुखहरू, कर्मचारी, डुम्रे भन्सार शहरी विकास कार्यालय तथा भानु नगरपालिकाका प्राविधिकहरूको सहभागिता रहेको थियो।
कार्यक्रम सञ्चालन भानु नगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत सुनील पाण्डेले गर्नुभएको थियो।
भानु साहित्य उद्यान गुरुयोजना स्वीकृतिलाई भानु नगरपालिकाको समृद्धि र नेपाली साहित्यिक धरोहरको संरक्षणतर्फको एक ऐतिहासिक कदमका रूपमा हेरिएको छ।

