भोला थापा क्षेत्री ।
तनहुँ–१ अन्तर्गत पर्ने भानु नगरपालिका वडा नम्बर ७ राजनीतिक रूपमा सधैं सक्रिय मानिन्छ। हरेक निर्वाचनमा यहाँ मतदाता सहभागिता उच्च हुन्छ। तर प्रश्न उठ्छ — यति धेरै राजनीतिक अभ्यास र सहभागिताका बाबजुद पनि, किन यो वडा आजसम्म आधारभूत विकासको सूचकमा पछाडि छ?
तीन दशक बित्दा पनि न्यूनतम परिवर्तन नदेखिने वडाको जिम्मेवारी कसको हो?
भानु–७ बाट विगतमा एमाले, कांग्रेसलगायत प्रमुख दलका उम्मेदवार निर्वाचित भइसकेका छन्। यसले स्पष्ट देखाउँछ कि जनता अवसर नदिएको होइन। तर ती अवसरको प्रतिफल कहाँ छ?
सधैं दल जिते, तर गाउँ हार्यो। युवा गाउँमा टिक्न सक्दैनन्, वैदेशिक रोजगारी बाध्यता बनिसकेको छ। गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवामा पहुँच सीमित छ। स्थानीय बजार र रोजगारीको आधार कमजोर छ। सडक र पूर्वाधार अधुरै छन्।
यदि पटक–पटक निर्वाचित प्रतिनिधिले यी न्यूनतम आवश्यकता पूरा गर्न सकेनन् भने, उही अनुहारमा फेरि विश्वास गर्नुको तर्क के हो?
चुनावको बेला भानु–७ विकासका प्राथमिकतामा पर्छ। कालोपत्रे सडक, कृषि आधुनिकीकरण, रोजगारी सिर्जना जस्ता शब्द घोषणापत्रमा आकर्षक देखिन्छन्। तर चुनाव सकिएपछि यही वडाको अवस्था उस्तै रहन्छ — न विकास हुन्छ, न नेता फर्कन्छ।
यथार्थ यो हो — विकास रोकिएको छैन, रोक्न दिइएको हो। नेता र नेताका आसेपासेहरूको गैरजिम्मेवारी स्पष्ट छ। तर निरन्तर मौन बस्ने जनताको भूमिका पनि कम छैन।
हाल राष्ट्रिय राजनीतिमा नयाँ दलहरूको उदयसँगै फेरि “परिवर्तनको लहर” देखिएको छ। विशेषतः राष्ट्रिय स्वतन्त्र पार्टीले सिर्जना गरेको माहोलले धेरैमा आशा जगाएको छ। तर इतिहासले चेतावनी दिन्छ — यस्तै लहर हिजो एमाले र कांग्रेसमा पनि थियो।
हिजो परिवर्तनको प्रतीक मानिएका दलहरूबाट आज जनता निराश छन्। त्यसैले प्रश्न उठाउनु स्वाभाविक छ — के हामी फेरि अर्को नाम, अर्को चुनाव चिन्हमा उही गल्ती दोहोर्याउँदैछौँ?
नयाँ दलका प्रतिनिधि पनि चुनाव जितेपछि गाउँ फर्केर नआए, समस्यामा मौन बसे, पाँच वर्षसम्म जवाफदेही भएन भने, परिवर्तन फेरि नारामै सीमित हुनेछ।
हामी हरेक चुनावमा नेतालाई फूलमाला र नाराबाजीसहित सदनसम्म पुर्याउँछौँ। तर जब ती नेता गाउँको बाटो बिर्सन्छन्, हामी प्रश्न गर्न हिच्किचाउँछौँ। यही मानसिकताले राजनीतिक गैरजिम्मेवारीलाई निरन्तरता दिएको छ।
अब स्पष्ट हुनुपर्ने समय आएको छ — नेता जनताका मालिक होइनन्, जनताका प्रतिनिधि हुन्। यदि भानु–७ का नागरिकले अब पनि हिसाब माग्न छोडे, विकास सधैँ आश्वासनमै सीमित रहनेछ।
भानु–७ को कथा केवल एउटा वडाको मात्र होइन, देशभरका सयौँ गाउँहरूको साझा यथार्थ हो। राजनीति धेरै भयो, विकास भएन। अब पनि जनताले आँखा नखोल्ने हो भने, यही निराशा दोहोरिनेछ।
भानु–७ का युवा साथीहरू:
चुनाव फेरि नजिक छ।
तपाईंको मत, तपाईंको निर्णयमा छ।
अब सधैंको जस्तो “नेता र भाषण सुन्ने” बेला होइन।
अब हिसाब माग्ने, नेतृत्वलाई जवाफदेही बनाउने समय आएको छ।
ती नेताहरू जसले मिठा भाषण दिन्छन् तर गाउँ आएर काम गर्न भुल्छन्, उनीहरूलाई मत दिनु अपराध समान हो।
साथीहरू, यो चुनावमा:
भाषण सुन्नु होइन, कामको हिसाब माग्नु।
पुरानै गल्ती दोहोर्याउनु होइन, सचेत निर्णय गर्नु।
लहर पछ्याउनु होइन, जनताको शक्ति देखाउनु।
परिवर्तन पार्टीको नामले होइन, सचेत नागरिकको निर्णयले सम्भव हुन्छ।
हाल : युएई
