नुवाकोट त्रिशूली०, १७ चैत । जोखिममा रहेका महिलाको प्रजनन स्वास्थ्य सुधार गर्ने उद्देश्यले सञ्चालित कार्यक्रम अन्तर्गत ५१ बालबालिकालाई एक संस्थाले छात्रवृत्ति वितरण गरेको छ ।
तीन वर्षदेखि जिल्लाका १७ गाविसमा कार्यक्रम सञ्चालन गरिरहेको नेपाल परिवार नियोजन सङ्घले जोखिममा रहेका, विपन्न वर्ग र बेचबिखनमा परेर फर्किएका महिलाका सन्तानलाई छात्रवृत्ति वितरण गरेको हो । परियोजनाले २०१०÷०११ को अवधिमा विपन्न र जोखिम प्रभावित १० महिलालाई खाद्यान्न, कपडा तथा राहत सामग्री वितरण र नौ सय १७ जनालाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गरिएको जनाएको छ ।
तीन सय तीनजनालाई एचआइभी÷एड्स परीक्षण तथा १५ लघु वित्त समूहलाई रु तीन लाख ४६ हजार लघु ऋण पनि प्रदान गरिएको सङ्घका फिल्ड संयोजक विशाल ज्ञवालीले जानकारी दिनुभयो । सङ्घले बालकुमारी, महाकाली, सिक्रे, छाप, शिखरबेंसी, किम्ताङ र राहुतबेसीमा तीन वर्षदेखि उक्त कार्यक्रम सञ्चालन गरिरहेको छ ।
यस्तै, सङ्घले तलाखु, लिखु, बुङताङ, काहुले, भाल्चे, साल्मे, घ्याङफेदी, गाउँखर्क, बेतिनी, र थप्रेकमा बेचबिखनबाट प्रभावितको पुनःस्थापना र राहत कार्यक्रम सञ्चालन गरिरहेको छ ।