–सुमन वैरागी
काठमान्डौ २ चैत । लोक गायनको क्षेत्रमा क्रियाशील रहँदै आएका विरही कार्कीले अब भने नयाँ गीति एल्बम लिएर आउने भएका छन् । शंका नमान, विन्ध्यवासिनी, झ्यालमा ऐना छ, पिपलपात फरर, डाँडै शिरिश, घाइते मुटु, झुठो सपनी, भत्किएको घर जस्ता चर्चित लोकदोहोरी गीतबाट चर्चा कमाएका लोकगायक विरही कार्कीले दुःख गीतिसंग्रह बजारमा ल्याएपछि झन् चर्चा बटुल्न सफल भए । उनको लोकसंगीतको उचाई झन् उकालोतर्फ उक्लियो । सुन खानीमा सुन… बोलको गीतले त उनको लोकगायन
को स्तरबृद्धि नै गरिदियो । त्यसपछि उनले लगातार दुःख भाग–२ आमा बजारमा ल्याए । लोक गीतमा छुट्टै मिठास बोकेका गायकको स्वरमा माधुर्यता छ । उनको गीतमा मौलिकता छ र समाज बोकेको शब्दहरुले गीतलाई सजाइएको हुन्छ । उनी आफैँमा शब्दका खानी हुन्, उनी स्वरका खानी हुन् भन्दा पनि फरक पर्दैन । उनले जति गीत गाए ती सबैले समाजको यथार्थता प्रस्फुटन गरेको पाइन्छ ।
आमा तिम्ले लगाएको चुरा फुट्दा खेरी
बुढेसकालमा एक्लै छोडी बाबा छुट्दा खेरी
छिन छिनमा रुन्छ्यौ होला
आँसुले मुख धुन्छ्यौ होला
परदेशी यो छोरो सम्झेर
उनको दुःख–२ आमा एल्बमको शीर्ष गीतमा देखिएको सामाजिक यथार्थताले कतिको मन छोयो, कतिलाई रुवायो तर वास्तविकता पनि यस्तै थियो । कार्की शब्दको गहिराईमा पुग्छन्, गाउँ परिवेशमा झुल्कन्छन् र स्रोताको मनमुटुमा बस्न सफल हुन्छन् । उनका गीतहरुले मुग्लानीको कथा बोकेका हुन्छ, भारी बोक्ने भरियाको व्यथा बोकेको हुन्छ भने गाउँवेशीको यथार्थ चित्रण गरेको हुन्छ ।
संविधानले लेख्छ भन्थे गरिबको व्यथा
महलमा बस्नेलाई हाम्रो मर्म के थाहा
कालापानी नालापानी सुस्ता खोइ त अहिले
सिमानामा झन्डा गाडी हाम्रो भन्ने कहिले
आफ्नै देश समाल, जय जय नेपाल
महलमा बस्नेलाई हाम्रो मर्म के थाहा
कालापानी नालापानी सुस्ता खोइ त अहिले
सिमानामा झन्डा गाडी हाम्रो भन्ने कहिले
आफ्नै देश समाल, जय जय नेपाल
कार्कीले पछिल्लो समयमा आफूलाई लोकगीतकै क्षेत्रमा क्रियाशील गराउँदै आए पनि देशभित्रको पीडा पोख्न पनि छाडेका छैनन् । दुःख–३ विरह बजारमा ल्याउने तयारीमा रहेका गायक कार्कीले गरिबको दुःखव्यथा मात्र होइन आफ्नो देशको खोसिएको भूभाग र मिचिएका सिमानाको खोजी समेत गर्ने जमर्को गीतबाटै गरेका छन् । आफ्नो देशको सिमानामा झन्डा गाडेर देशको जयजय गाउने उनको धोको यस एल्बमले पूरा गर्ला नगर्ला तर लोक गायक कार्कीको शब्द र स्वरले भने स्रोता दर्शकको मनमस्तिष्कमा झन्डा गाड्ने नै छ । उनको यस एल्बममा नसोध मलाई, म तिमीलाई पाउँदै पाउँदिन, हेर्दा राम्रो आँखा तिम्रो, विछोडको गीत गाउँदैछु, विरही बनेर लगायतका गीतहरु समावेश गरिएका छन् ।
