काठमान्डौ २ चैत ।
प्रधानमन्त्री डा बाबुराम भट्टराईले शान्ति प्रक्रिया र संविधान लेखनका विषयमा आज साना दलहरुसँग छलफल गर्दै हुनुहुन्छ । सेना समायोजन सम्बन्धि सरकारको प्रस्तावमा सहमति जुटाउने प्रयासस्वरुप प्रधानमन्त्री भट्टराईले सानादलहरुसँग छलफल गर्न लाग्नु भएको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा दिउँसो एक बजे हुने छलफलमा प्रधानमन्त्रीले सेना समायोजनसम्बन्धि सरकारको प्रस्तावमा सहयोगका लागि आग्रह गर्ने बताइएको छ ।
साना दलहरुले भने ठूला दलहरुको उदाशिनताका कारण शान्ति प्रक्रिया र संविधान लेखनकार्य ओझेलमा परेको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराउने भएका छन् । नेकपा मालेका महासचिव सीपी मैनालीले मुख्य तीन दलकै कारण शान्ति प्रक्रिया र संविधान लेखनको काम अघि बढ्न नसकेकोले यसबारेमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराउने जानकारी दिनुभयो ।
शान्ति र संविधानलाई टुङ्गोमा पु¥याउन सरकारको नेतृत्वकर्ता र संविधानसभामा सबैभन्दा ठूलो दलको हैसियतले पनि एकीकृत नेकपा माओवादी नै बढि जिम्मेवार हुनुपर्ने उहाँले बताउनुभयो ।