Responsive Ad Slot

latest

'सुरक्षामा कुनै चुक नहोस्'

Tuesday, May 22

/ by Admin BHOLA THAPA
काठमाडौं, जेठ ९ -प्रधानमन्त्री बाबुराम भट्टराईले सुरक्षा संगठनका प्रमुख र सेनाका प्रतिनिधिलाई उच्च मनोबलमा बस्न निर्देशन दिएका छन्। सरकारी निवास बालुवाटारमा सोमबार बसेको बैठकमा रक्षासचिव समेत उपस्थित थिए।
समितिको बैठक नियमित रूपमा शुक्रबार बस्दै आएको थियो। प्रधानमन्त्रीले सोमबार समितिका अधिकारीहरूलाई सरकारी निवास बालुवाटारमा बोलाएर एक घन्टा ब्रिफिङ लिएका थिए।
भट्टराईले 'अहिले संवेदनशील वातावरण रहेकाले सुरक्षामा कुनै चुक भए अवस्था नियन्त्रणबाहिर जानसक्ने' भन्दै नचुक्न सुरक्षा प्रमुखहरूलाई निर्देशन दिए।
गृहमन्त्री विजयकुमार गच्छदार, गृहसचिव सुशीलजंग राणा, रक्षासचिव माधव रेग्मी, नेपाल प्रहरी प्रमुख रवीन्द्रप्रताप शाह, सशस्त्र प्रमुख कोषराज वन्त, राष्ट्रिय अनुसन्धान विभाग प्रमुख मोती गुरुङ र नेपाली सेनाका प्रतिनिधि उपरथी बलदेव महत बैठकमा उपस्थित रहेको बैठकमा भट्टराईले निर्देशन दिए, 'अराजक गतिविधि गर्नेलाई कडाइपूर्वक रोक्नुस्।'
'जातीय सद्भाव बिथोल्ने, भड्काउने शान्ति र संविधान निर्माण प्रक्रिया अवरुद्ध गर्नेबिरुद्ध सरकार कडाइपूर्वक प्रस्तुत हुनेछ, तपाईंहरू त्यसैको तयारी गर्नुस्,' प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो। उनले बैठकमा सहभागीलाई पटकपटक सरकार पूर्णरूपमा सुरक्षा संगठनका पक्षमा रहेको दोहोर्‍याएका थिए।
प्रधानमन्त्रीको निर्देशनपछि बैठकमा सहभागी सुरक्षा प्रमुखले 'अहिलेको अवस्था सुरक्षाकर्मीकै नियन्त्रणमा रहेको' उल्लेख गर्दै जस्तोसुकै अवस्था पनि काबुमा राख्नसक्ने क्षमता रहेको बताएको बैठकस्रोतले बतायो।
स्रोतका अनुसार जातीय राज्यको माग गर्दै जातीय संगठनले गरेको बन्दमा सुरक्षाकर्मीको परिचालनप्रति प्रधानमन्त्री केही असन्तुष्ट थिए। आइतबार अत्यावश्यक सेवाका सवारी साधन र प्रेसमाथि भएको आक्रमणबारे प्रधानमन्त्रीले पटकपटक चासो राखेका थिए।
संविधान सभाको म्याद नजिकिँदै गर्दा विभिन्न शक्तिकेन्द्र सक्रिय हुनसक्ने भएकाले यसको पूर्वमूल्यांकनका आधारमा संगठन परिचालन हुनुपर्ने प्रधानमन्त्रीको जोड थियो।
उनले अति आवश्यक वस्तुको दैनिक आपूर्ति, खाद्यान्न, औषधी, पेट्रोलियम लगायत वस्तुहरूको आपूर्ति सहज बनाउन गृह मन्त्रालयका अधिकारीको ध्यानाकर्षण गराएका थिए।
बैठकमा यसअघि केन्द्रीय सुरक्षा परिषद बैठकको निर्णयको समेत समीक्षा भएको थियो। सुरक्षा समीक्षा गर्दै प्रमुखहरूले समाजमा द्वन्द्व बढाउने प्रकृतिका गतिविधि बढेकाले यसको न्यूनीकरण गर्नु अहिलेको प्रमुख सुरक्षा चुनौती भए पनि काबुबाहिरै जाने अवस्था नभएको बैठकमा सहभागीले प्रधानमन्त्रीलाई बताएका थिए।
बैठकमा सहभागीले प्रधानमन्त्रीलाई 'जस्तोसुकै परिस्थिति पनि काबुमा राख्नसक्ने गरी सुरक्षाकर्मी हाइअलर्टमै रहेको' भन्दै आश्वस्त पार्ने प्रयास गरेका थिए।
यसअघि भएको परिषद बैठकमा सबै जिल्लामा सुरक्षा समीक्षा र चुस्त परिचालनका लागि जिल्ला तहमा कमान्ड पोस्ट स्थापना गर्ने तथा सबै सुरक्षा निकायले पाएको सूचना एकत्रित गरी सुरक्षा योजना बनाउने निर्णय गरेको थियो।
आवश्यकता अनुसार नेपाल प्रहरी र सशस्त्र प्रहरी संयुक्त परिचालन गर्ने, राजनीतिक दलका शीर्ष नेता, कुटनीति नियोगका अधिकारी र अन्य विशिष्ट व्यक्तिको सुरक्षा प्रभावकारी बनाउने, राजनीतिक दलबीच हुनसक्ने भिडन्तको पूर्वानुमानका आधारमा सुरक्षाकर्मीको परिचालन बढाउने, भूमिगत समूह र हिंसा भड्काउनसक्ने समूहको सूचना संकलन गरी निगरानी बढाउने लगायत निर्णय गरेको थियो। परिषदको निर्णयअनुसार नेपाल प्रहरी फ्रन्टलाइनमा र सशस्त्र प्रहरी सपोर्टमा परिचालित हुँदै आएका छन्।
स्रोतका अनुसार भट्टराई आइतबारको बन्दमा काठमाडौं र पोखरामा भएको झडप र सञ्चारकर्मीमाथि भएको आक्रमणका घटनाप्रति क्षुब्ध देखिएका थिए। उनले सुरक्षाकर्मीले घटना रोक्न नसकेको भन्दै सुरक्षा प्रमुखसँग कारण सोधेका थिए।
प्रत्युत्तरमा उनीहरूले पोखरा र ललितपुरको ग्वार्कोमा बल प्रयोग गर्नुपर्ने अवस्था भए पनि आक्रोश कम गर्न प्रहरीले हस्तक्षेपमात्र गरी समूह तितरबितर गर्न जोड दिएको बताए।
'सबै प्रकृतिको अवस्थामा परिचालनका लागि सुरक्षा निकाय तयारी अवस्थामा छ,' बैठकस्रोतले भन्यो, 'तरल अवस्थामा कडा हस्तक्षेप गर्दा थप आक्रोश बढ्ने र सुरक्षा चुनौती जटिल हुनसक्ने भएकाले सामान्य हस्तक्षेपका नीतिमा सुरक्षासंगठन छन्।'
Don't Miss
© all rights reserved
made with by netKUTI