Responsive Ad Slot

latest

सगरमाथामा चारको मृत्यु

Tuesday, May 22

/ by Admin BHOLA THAPA
काठमाडौं, जेठ ९   
( तनहुँखबर )-विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरी फर्कनेक्रममा नेपाली मूलकी एक महिलासहित चार आरोहीको मृत्यु भएको छ। चुचुरो पुगेर फर्किरहेकी नेपाली मूलकी क्यानडेली ३३ वर्षीया श्रीया शाहको मृत्यु भएको सगरमाथा आधारशिविरबाट पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका नायबसुब्बा ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिए।
'सगरमाथाको सफल आरोहण गरी फर्कंदै गर्दा ८ हजार ६ सय ५० मिटर उचाइमा उनको मृत्यु भएको हो,' श्रेष्ठले आधारशिविरबाट टेलिफोनमा सोमबार नागरिकसँग भने, 'कृत्रिम अक्सिजन सकिएर उनको मृत्यु भएको अनुमान गरिएको छ।'
मन्त्रालयका अनुसार राजधानीको ह्याप्पी फिट ट्रेकिङ एजेन्सीको व्यवस्थापनमा 'हाइ एड्भेन्चर एक्सपिडिसन २०१२' दलमार्फत् उनी सगरमाथा आरोहणमा गएकी थिइन्। उनको दलमा ११ सदस्य छन्। अमेरिकी आरोही विलियम मिचेल बुर्कले नेतृत्व गरेको दलकी सदस्य शाहले साधारण रुट (दक्षिण-पूर्वी मोहोडा) बाट सफल आरोहण गरेकी थिइन्।
शाह एसओएस स्प्लास अफ स्टाइल इन्कर्पोरेटेडकी सञ्चालक, व्यवसायी, राजनीतिक कार्यकर्ता र विभिन्न सामाजिक तथा सांस्कृतिक संघसंस्थाको सक्रिय सदस्य रहेको उनको आफ्नै वेबसाइटमा उल्लेख छ।
'म दक्षिण एसियाली महिलामध्ये पहिलो हुँ जसले क्यानडाको झन्डा सर्वोच्च शिखर सगरमाथामा फहराउन गइरहेको छु,' आरोहणमा जानुअघि उनले उक्त वेबसाइटमा लेखेकी थिइन्, 'क्यानडाबाट सगरमाथा शिखर पुग्ने चौथो महिला हुन्छु भन्ने विश्वास मलाई छ।'
त्यसै गरी आरोहण सकेर फर्कंदै गर्दा जर्मनीका ६२ वर्षीय डा. एरिक एभरहार्ड स्काफ, दक्षिण कोरियाका सोङ वनबिन र चीनका विन रीको पनि मृत्यु भएको श्रेष्ठले जानकारी दिए। चुचुरोबाट फर्कंदै गर्दा ८ हजार ७ सय मिटर उचाइमा आइपुगेपछि स्कामफको मृत्यु भएको उनले बताए।
'उनीहरूको शव आधारशिविर झार्ने प्रयास भइरहेको छ,' उनले भने, 'मौसम खराब भएकाले समस्या परेको छ। ती शव यसपालि आधारशिविरै ल्याउन सकिएलाजस्तौ छैन।'
राजधानीको एसियन ट्रेकिङ प्रालिले व्यवस्थापन गरेको 'इको एभरेस्ट एक्सपिडिसन २०१२' दलमार्फत् स्काफ सगरमाथा गएका थिए। उनको दलमा १५ सदस्य छन्। सगरमाथासँगैको ल्होत्से हिमाल आरोहण गरी फर्कंदै गरेका चेक गणतन्त्रका एक आरोहीको पनि मृत्यु भएको उनले बताए।
श्रेष्ठका अनुसार सगरमाथामा तीनैजनाको शनिबार मृत्यु भएको थियो। शनिबार एक्कासि मौसम सफा भएपछि झन्डै साढे दुई सय आरोही चुचुरोतिर लागेका थिए। गत शुक्रबार ३०, शनिबार १ सय ५० र आइतबार १५ आरोही शिखर पुगेका थिए।
बढी उचाइमा आरोहीको चाप बढेको र उनीहरूले बोकेको कृत्रिम अक्सिजन पनि सकिएपछि उनीहरूको मृत्यु भएको हो। 'सबै आरोहीलाई शिखर पुग्नु नै ठूलो कुरा भयो,' उनले भने, 'अर्को साल आउँदा पनि हुन्थ्यो, ज्यानै माया मारेर चढ्नु हुन्थेन।' उनका अनुसार यसअघि आधारशिविरमा एक र पहिलो क्याम्पमा खर्पसमा खसेर एक गरी दुई नेपाली आरोहीको मृत्यु भएको थियो। यसपालि सगरमाथामा छ आरोहीको मृत्यु भइसकेको छ।
Don't Miss
© all rights reserved
made with by netKUTI