Responsive Ad Slot

latest

खेलकुदमा बजेट छुट्याउन दाहालको निर्देशन

Wednesday, June 20

/ by Admin BHOLA THAPA
काठमाडौं, असार ६- एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले नेपाली खेलकुद विकासलाई आवश्यक बजेट छुट्याउन अर्थमन्त्री वर्षमान पुनलाई निर्देशन दिएका छन्।
माओवादीनिकट खेलकर्मीको संगठन अखिल नेपाल खेलकुद संघको उद्‍घाटन गर्न मंगलबार राष्ट्रिय खेलकुद परिषद् (राखेप) पुगेका दाहालले भने, 'हामीकहाँ जुन क्षेत्र कमजोर छ, त्यही कम बजेट राख्ने चलन छ। यो चलन तोड्नुपर्छ। कार्यक्रममा अर्थमन्त्री पनि हुनुहुन्छ। खेलकुद विकासलाई आवश्यक बजेट छुट्याउन म अनुरोध गर्छु। खेलकुदलाई बजेटमा खास व्यवस्था हुनुपर्छ।'
माओवादीले खेलकुद व्यवस्थापनलाई विशेष ध्यान दिएको उनले दावी गरे। 'राजनीतिबाहेक खेलकुद र सांस्कृतिक कार्यक्रममा मेरो खास रुचि छ। खेल हेर्न बसेपछि नसकिएसम्म जस्तो काम भए पनि छोड्न मन लाग्दैन,' दाहालले भने, 'खेलकुद स्वास्थ्य र राष्ट्रका लागि हुनुपर्छ। खेलकुद भनेको कुनै पनि देशको सभ्यता र सम्वृद्धिको मापक हो।'
वरिष्ठ उपाध्यक्ष मोहन वैद्यको अध्यक्षतामा नयाँ पार्टी गठनको घोषणा भएको दुई घन्टापछि राखेप पुगेका माओवादी अध्यक्ष दाहालले खेलकुदको कार्यक्रममा राजनीतिबारे नबोल्ने बताए।
अर्जुन केसीको अध्यक्षतामा गठित माओवादीसमर्थित संघ उद्घाटनको अवसरमा जुडो, उसु, जिम्न्यास्टिक, सितोरियो कराते, बुदोकैदोलगायतका खेलको प्रदर्शन गरिनुका साथै समायोजनमा गइसकेको माओवादी सेनाको नृत्य पनि प्रस्तुत गरिएको थियो। माओवादी सेनाका कलाकारले सैनिक पोशाकमै नृत्य गरे।
नवगठित संघका अध्यक्ष केसीले संघ खेलकुदका विकृति र विसंगतिविरुद्ध लाग्ने बताए। नेपाल ओलम्पिक कमिटी (एनओसी) मा व्यापक भ्रष्टाचार भएको आरोप लगाउँदै उनले त्यसविरुद्ध लड्ने बताए। संघका सहसचिव राजेश्वरमान स्थापितले खेल र खेलाडीको विकासमा संघ लागिपर्ने बताए।
राखेपका सदस्यसचिव युवराज लामाले संघको प्रगति कामना गर्दै सहकार्य गर्न राखेप तयार रहेको बताए। लामा संघका सल्लाहकार पनि हुन्। यसैगरी अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष गणेश थापाले संघ माओवादीको भ्रातृ संगठनका रूपमा स्थापित भए पनि खेलकुद र खेलाडीको हितमा काम गर्नुपर्ने बताए। सहयोगका लागि आफू तयार रहेको बताउँदै उनले संघको सफलतालाई शुभकामना व्यक्त गरे।
नवगठित संघ राखेपमा राष्ट्रिय संघका रूपमा दर्ता भएको पहिलो राजनीतिक संगठन हो। केसीको अध्यक्षतामा गठित ३८ सदस्यीय केन्द्रीय तदर्थ समितिको उपाध्यक्षद्वयमा रविन्द्र श्रेष्ठ र नवराज कोइराला, महासचिवमा दिपेश पुन, सचिवमा सन्तोष सुवेदी, सहसचिवमा राजेश्वरमान स्थापित तथा कोषाध्यक्षमा राजकुमार श्रेष्ठ छन्।
Don't Miss
© all rights reserved
made with by netKUTI