Responsive Ad Slot

latest

मेट्रो ट्राफिक एफएम उद्घाटन

Tuesday, July 24

/ by Unknown
काठमाडौँ साउन ९ गते । उपप्रधान एवम् गृहमन्त्री विजयकुमार गच्छदारले महानगरीय ट्राफिक प्रहरीद्वारा सञ्चालनमा ल्याइएको मेट्रो ट्राफिक एफएम ९५.६ र महिला ब्यारेक भवनको सोमबार यहाँ उद्घाटन गर्नुभयो । त्यस अवसरमा उहाँले आर्थिक अभाव र सीमित स्रोत साधनबाट पनि नेपाल प्रहरीले अपराध नियन्त्रणमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको उल्लेख गर्नुभयो ।
सरकारको प्रमुख दायित्व मुलुकमा शान्तिसुरक्षा कायम गरी आम जनतालाई जीउधनको सुरक्षा प्रदान गर्नु नै हो भन्ने विषयलाई सरकारले उच्च प्राथमिकता दिएको गृहमन्त्रीले उल्लेख गर्नुभयो । आफूले गृह मन्त्रालयको जिम्मेवारी सम्हाले यता गृह प्रशासनमा कुनै किसिमको राजनीतिक हस्तक्षेप हुन नदिएको बताउँदै गृहमन्त्री गच्छदारले जसको परिणामस्वरूप अपराधमा संलग्न ठूूला राजनीतिकर्मीलाई समेत पक्राउ गर्न प्रहरी सफल भएको हो भन्नुभयो ।
आफूले पक्राउ परेका कुनै पनि राजनीतिक नेता तथा कार्यकर्तालाई छोड भनेर प्रहरी प्रशासनलाई निर्देशन नदिएको तथा अनियमित र राष्ट्रलाई नोक्सान पु¥याउने काम नगरेको उहाँले बताउनुभयो । सञ्चारमाध्यम स्वतन्त्र हुनुपर्छ, निजी क्षेत्रबाट पनि सञ्चारमाध्यम सञ्चालन गर्ने व्यवस्था हुनुपर्छ भनेर २० वर्षअघि आफूले सञ्चार मन्त्रालयको जिम्मेवारी लिएको समयमा सञ्चारनीति ल्याएको बताउँदै मन्त्री गच्छदारले जसको परिणामस्वरूप अहिले सञ्चारको क्षेत्रमा क्रान्ति नै आएको दाबी गर्नुभयो ।
मुलुकलाई राजनीतिक सङ्क्रमणबाट मुक्त गराउनु र सही ढङ्गले व्यवस्थापन गर्नु प्रमुख चार राजनीतिक घटकको जिम्मेवारी भए पनि त्यो हुन नसकेको बताउँदै उहाँले यसमा कुन पक्षबाट कमी कमजोरी भयो त्यो निर्वाचनको समयमा जनताले मूल्याङ्कन गर्नेछन् भन्नुभयो ।
अहिलेको राजनीतिक सङ्कटको निकास निर्वाचन नै हो, निर्वाचनको विकल्प छैन, जनताको ताजा राय लिन किन डराउने भन्दै आफू सुरुदेखि नै निर्वाचनको पक्षमा रहेको र अहिले ठूला दलहरू पनि त्यसैको पक्षमा देखिएकामा आफ्नो तर्कले सार्थकता पाएको छ उहाँले भन्नुभयो ।
अर्थ मन्त्रालयका सचिव कृष्णहरि बाँस्कोटाले परिणाम देखाउने गरी काम गरे स्रोत साधनको कमी हुन नदिने प्रतिबद्धता व्यक्त गर्दै खासगरी बिहान र बेलुकाको समयमा सार्वजनिक यातायातमा यात्रा गर्ने यात्रुको सुरक्षामा ध्यान दिन प्रहरीलाई सुझाव दिनुभयो ।
Don't Miss
© all rights reserved
made with by netKUTI