कृष्ण न्यौपाने दमौली असोज ७ गते नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको प्रचारप्रसार गर्न फोटो पत्रकार महासंघ नेपालले भानुसँग सम्बन्धित फोटोहरु प्रदर्शनी गर्ने भएको छ । अन्तर्राष्ट्रिय पर्यटन दिवस सेप्टेम्बर २७ को पूर्व सन्ध्यामा असोज ९ गते फोटो पत्रकार महासंघ नेपाल काठमाडौं शाखाले पर्यटन बोर्डमा फोटो प्रदर्शनी गर्न लागेको हो । नेपाली भाषाका धरोहर आदिकवि भानुभक्त आचार्यको जन्मथलो तनहुँको चुँदीरम्घालाई विश्वव्यापी बनाउन फोटो प्रदर्शन गर्न लागिएको फोटो पत्रकार महासंघका केन्द्रीय महासचिव डम्बर अधिकारीले शनिबार दमौलीमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । उनले भानुको जन्मथलो चुँदी रम्घालाई साहित्यिक तीर्थस्थलको रुपमा विकास गर्न अन्तर्राष्ट्रिय पर्यटन दिवसको अवसरमा काठमाडौंमा फोटो प्रदर्शनी गर्न लागेको बताए । प्रदर्शनीमा अधिकारीद्वारा खिचिएका भानुभक्तको जन्मथलो चुँदी रम्घा प्रवेश गर्ने पुल, चुँदीफाँट, भानु जन्मस्थल विकास समितिमा रहेका भानुभक्तका ऐतिहासिक सामग्रीहरु, खण्डहर अवस्थामा रहेको भानुगृह, भानुको प्रतिमा, भानुको अन्त्येष्टि गरिएको सती घाट, भानु–घाँसी स्मारक पार्क लगायतका ३४ वटा फोटो प्रदर्शनीमा राखिने जानकारी गराइयो । अधिकारीले छिट्टै नै नेपालका प्रमुख शहर लगायत भारतको सिक्किम र दार्जिलिङमा समेत फोटो प्रदर्शनी गरिने बताए । फोटो पत्रकार महासंघ नेपालका केन्द्रीय अध्यक्ष गोरा मियाँको अध्यक्षतामा सम्पन्न कार्यक्रममा महासंघका सल्लाहकार माधव बहादुर पन्त, नेपाल पत्रकार महासंघ तनहुँका निवर्तमान अध्यक्ष प्रदीप काफ्ले, ओमकार आचार्य लगायतले भानुको प्रचारप्रसारको लागि गरिएको कार्यक्रम सराहनी रहेको बताए ।