Responsive Ad Slot

latest

गायन र अभिनय सँगसँगै

Wednesday, November 9

/ by Admin BHOLA THAPA
सुमन बैरागी
काठमान्डौ २३-

आजभोली टेलिसिरियल झ्याइँकुटीमा मादल बजाउँदै गीत गाउँदै आउने जोडी हुन् शम्भु सिलवाल र सुदर्शन सिलवाल अर्थात् घिन+ताङ । दमन रुपाखेती र शेखर खनालको बोलावटमा हाँस्य क्षेत्रमा अभिनय गर्ने मौका पाएका उनीहरुको यो जोडीले झ्याइँकुटी झ्याइँलाई छुट्टै रौनक मिलेको छ । त्यसमध्येका एउटा प्रतिभा हुन् शम्भु सिलवाल । उनी अरु साना टेलि सिरियलहरुमा पनि अभिनय गरिरहेका छन् । उनको कलाकारिता निरन्तर जारी नै छ । झन् आफूलाई कलाको माध्यमबाट दर्शकसामु देखाइरहने सोच राखेका शम्भु सिलवालले आफ्नो प्रतिभालाई अझ अगाडि लैजाने क्रममा गायनतर्फ पनि अग्रसर देखिएका छन् ।



सलाङ गाविस—९, आरुवास्टार धादिङ मा जन्मेका सिलवाल एउटा राम्रो दोहोरी गायक पनि हुन् । २०६१ सालमा अध्ययनका साथसाथै रोजगारीको क्रममा चितवनको संगम दोहोरीबाट गाउन सुरु गरेका सिलवाल गीतसंगीतमा निरन्तर लाग्ने रुची भएको बताउँछन् । सानैदेखि गीतसंगीतमा लाग्ने सोच बनाएका सिलवालले अहिले भने डालीमा दोहोरीमा गीत गाउने काम पनि गर्छन् । पहिलो लोकदोहोरी गीत ‘रुपैको जादुले’ स्रोतामाझ चर्चा पाएपछि एकाएक दोहोरीको बजारमा आफूलाई उभ्याउन सफल भएका गायक सिलवाल कलाकारितालाई अझ सशक्त रुपमा अगाडि लैजाने दौडमा छन् । बेलुका दोहोरीमा, दिउँसो सुटिङतिर आफूलाई व्यस्त बनाइरहेका गायक सिलवालले भर्खरै मात्र ‘चिसो चिसो पानी’ बजारमा ल्याएका छन् । चिसो चिसो पानी एल्बममा दुईवटा गीत समावेश गरिएको छ । लोकदोहोरीको बजार त्यति राम्रो नभए पनि गीतसंगीतको उत्पादन भने रोक्न नहुने बताउने सिलवालले आफ्नो गीतको म्यूजिक भिडियो पनि निर्माण गरिसकेका छन् । जुन म्युजिक भिडियोमा घिन्ताङ जोडीलाई पनि देख्न सकिन्छ ।

लोकसंस्कृतिलाई जगेर्ना गर्दै विकास र विस्तारमा लाग्नुपर्ने धारणा राख्ने गायक सिलवाल अब भने छिट्टै नै अर्को एल्बमको तयारी गर्ने बताउँछन् । हामी लोकसंगीतमा लागेका कलाकारहरुले एकजुट भएर अघि नबढेसम्म यसभित्रका विकृतिहरुको पहिचान गर्न सक्दैनौं भन्ने सोच उनीसँग छ । आफूलाई मनपर्ने गायकका रुपमा भक्तराज आचार्य र लोकबहादुर क्षेत्री रहेको बताउने सिलवाल सुगम संगीतप्रति आफ्नो रुची भएको बताउँछन् । अब छिट्टै सुगम संगीतमा पनि आफ्नो स्वर रेकर्ड गर्ने सोचाइमा रहेको उनी बताउँछन् ।
Don't Miss
© all rights reserved
made with by netKUTI