कहिल्यै बन्नु परेन कसैको उपनिवेश, इतिहासमै स्वीकार्नु परेन कहिल्यै कसैको दासत्व ! हिमालको एउटा देश, जो अस्तित्वमा आएदेखि नै आफ्नो स्वतन्त्रतालाई जोगाएर विश्व मानचित्रभित्रको दक्षिण एसियामा युगौंदेखि नै आफ्नो गर्विलो उपस्थिति देखाइरहेको छ । आफ्नै संस्कृति र परम्परालाई अंगालेर मुस्कुराइरहेको छ । छिमेकमा दुई ठूला राष्ट्र छन्, चीन र भारत । उत्तरको सिमाना चीनलाई हिमालले छुट्याएको छ, तर दक्षिण, पूर्व र पश्चिममा पर्ने भारतसँग समथर तराईको सिमाना जोडिएकोले भूमि विवाद यत्रतत्र छ । ठूलो राष्ट्रको हेपाहा र मिचाहा प्रवृत्तिलाई यहाँ राम्रोसँग देखाइएको छ । समथर र सुगम भौगोलिक सिमानाको कारणबाट आवतजावतमा सरल छ । कति हदसम्म त सांस्कृतिक समानता पनि छन् । एक अर्कामा भाइचारा पनि छ, नातागोता नै पनि जोडिएको छ । तर ठूलोको छेउमा सानो राष्ट्र ! सांस्कृतिक रुपमा अतिक्रमण त भएकै छ, राजनैतिक तथा आर्थिक अतिक्रमण पनि भएको छ तर अस्थिर राजनीति र त्यसका हर्ताकर्ताहरुले त्यसलाई मुक स्वीकारेकै छन् । जब भूमि अतिक्रमणको कुरा आउँछ तब नागरिकहरुको स्वाभिमान त्यहाँ जुर्मराएर उठ्न पुग्छ । हतियारले लैश सिपाहीहरु स्तब्ध उभिरहेको घडीमा सिमानामा बस्ने निहत्था नागरिकहरु राष्ट्रभक्ति र देशको लागि गर्ने बलिदान उदाहरणीय मात्र होइन किंवदन्ती नै जस्तो पनि लाग्न पुग्छ ।
राजधानीको सुविधा सम्पन्न माटोमा चलखेल गर्ने उच्चस्तरीय नागरिक भनाउँदाको भन्दा लाखौं गुण बढी सिमानाको माटो खोस्रेर बनिबुतो गर्ने गरिब नागरिकहरुको मनमा बसेको राष्ट्रभक्तिले हामीलाई झकझकाउँछ । माटोको माया के हुन्छ ? त्यहाँ गएर थाहा पाउँछौं, हामी ! अतिक्रमणको चेपेटामा जिन्दगी जर्जर छ । तर राष्ट्रभक्ति उर्वर । मृत्युसँग खेलिरहेका हुन्छन् पलपल तर मर्ने न त सहिद हुन्छन्, न त बाँच्नेहरुले नै स्याबासी पाउँछन् । तर पनि माटो आफ्नो, देश आफ्नो, माया गर्ने सिमानाबासीहरुले नै जोगाइरहेका छन्, यो स्वतन्त्र राष्ट्रको अस्तित्व ।
सिलुट इन्टरटेनमेन्ट प्रा.लि. का लागि गुणराज राजभण्डारी, सन्तोष केसी र रामहरि श्रेष्ठको संयुक्त लगानीमा निर्माण भएको कालापानीका निर्देशन उद्धव अविदितले गरेका छन् । नेपाल चलचित्र विकास बोर्डले कालापानीलाई विशेष चलचित्रको सूचीमा पारिसकेको छ । चलचित्र यही कार्तिक १८ गतेदेखि उपत्यकामा प्रदर्शन भएको छ भने कार्तिक २५ गतेबाट उपत्यका बाहिरका हलहरुमा प्रदर्शन हुँदैछ ।
कालापानीले नै मलाई चलचित्र उद्योगमा स्थापित गराउँछ
विरु नेपाल, नायक
दाङ घोराहीमा जन्मिएका विरु नेपाल रङ्गमञ्चमा धेरै अभिनय गरेका व्यक्ति हुन् । रङ्गमञ्च हुँदै नृत्य प्रशिक्षकका रुपमा लामो समय कार्यरत रहेका नेपालले आफूलाई चलचित्र कालापानीमार्फत पर्दामा उतारेका छन् । चलचित्र कालापानी यही कार्तिक १८ बाट उपत्यकाका हलहरुमा प्रदर्शन भइरहेको छ भने कार्तिक २५ गतेबाट उपत्यका बाहिर प्रदर्शशन हुँदैछ । चलचित्र प्रदर्शन आएको अवस्थामा यसै चलचित्रमा महत्वपूर्ण भूमिका निर्वाह गरेका नायक विरु नेपालसँग म्यूजिक खबरले गरेको कुराकानी ः
आजभोली के मा व्यस्त हुनुहुन्छ ?
मैले पहिलोपटक अभिनय गरेको चलचित्र कालापानी अहिले प्रदर्शनमा आएको छ । कालापानीकै प्रमोशनको लागि म चलचित्र प्रदर्शन भएका चलचित्र हलहरुमा उपस्थित हुँदै आएको छु । म लगायत कालापानीका सबै समूहरु कालापानीकै प्रमोशनको लागि लागिरहेका छौं ।
यसमा तपाईंको भूमिका कस्तो रहेको छ ?
कालापानी आफैंमा राष्ट्रियता सम्बन्धी कथाको बोकेको चलचित्र हो । यसले नेपाल भारतको सीमामा हुने अतिक्रमणका विषयलाई प्रमुख विषय बनाएर अघि बढेको छ । चलचित्रमा राष्ट्रियताको रक्षाका निम्ति लड्ने एउटा राष्ट्रप्रेमी युवाको भूमिका मैले गरेको छु । सीमामा हुने गरेको अतिक्रमण र सीमाको वरपर बस्ने बासिन्दाहरुमाथि भारतीय सीमा सुरक्षा बल(एसएसबी)ले गरेको ज्यादतीकाविरुद्ध मैले पनि यस चलचित्रमार्फत आवाज उठाएको छु । मलाई लाग्छ यस चलचित्रमा मैले गरेको सशक्त भूमिकाले गर्दा मेरो चलचित्र क्षेत्रमा केही स्थान रहला । यसै चलचित्रले मलाई पनि चलचित्र उद्योगमा स्थापित गराउला भन्नेमा म ढुक्क छु ।
चलचित्रको व्यापार कस्तो भइरहेको छ ?
चलचित्र कार्तिक १८ गते शुक्रबारबाट प्रदर्शनमा आएको हो । कालापानीसँगै फरक धारको अर्को चलचित्र मसान पनि रिलिज भएको भए पनि यी दुईको व्यापारमा कालापानी नै अगाडि देखिएको छ । मसानले बोकेको सामाजिक धार भन्दा कालापानीले बोकेको राष्ट्रियता रक्षाको विषयलाई धेरैले मन पराइदिएको कालापानी हेर्न आएका दर्शकहरुबाट प्रष्ट हुन्छ ।
चलचित्र क्षेत्रमा प्रवेश गर्दा सबैले लगानी गरेर आफूलाई नायक बनाएको अवस्था छ यसमा तपाईं पनि पर्नुभएको छ की ?
होइन, केही लिन केही गुमाउनुपर्छ भन्ने कुरामा त म पनि छु, तर त्यो भन्दैमा लगानी नै गर्नुपर्छ भन्ने होइन । चलचित्र उद्योगमा प्रवेश गर्ने सबै कलाकारले सुरुमा आफ्नो स्थान बनाउनका लागि केही न केही लगानी गरेकै हुन्छन् र बजारमा पनि नायक हुँदा यति लगानी गरेको रहेछ भन्ने हल्ला सुनिन्छ । त्यस्तै हो मैले पनि आफ्नो बुद्धि विवेकलाई यस चलचित्रमा लगानी गरेको छु । लगानी भन्नेवित्तिकै पैसालाई मात्र लिने प्रचलनले बजारमा नकारात्मक सन्देश पनि फैलिएको हुनसक्छ ।
यो चलचित्रले तपाईंलाई चलचित्र उद्योगमा स्थापित गर्छ भन्ने लाग्छ ?
त्यो त मेरो भूमिकालाई हेर्ने चलचित्रकर्मीमाथि भर पर्छ । यो चलचित्र खेलेपछि केही चलचित्रकर्मीहरुले मलाई अफर गरिरहेका छन् तर म आफैंले चलचित्रको कथावस्तु नहेरी अगाडि बढ्ने सोच गरेको छैन । चलचित्रमा अनुहार देखाउने भन्दैमा दौडिहाल्नु उचित पनि छैन । फेरी चलचित्र उद्योगको खस्कँदो अवस्थामा विचार पु¥याएर काम गर्नुपर्ने देखिन्छ ।
अन्त्यमा ?
मैले अभिनय गरेको चलचित्र कालापानी प्रदर्शन भइरहेको छ र अब यही कार्तिक २५ गतेबाट उपत्यका बाहिर प्रदर्शन हुँदैछ । त्यसैले चलचित्र कालापानी हेरेर मेरो भूमिका हेरेर मेरा गल्तीकमजोरीहरु औंल्याइदिनुहोला, जुन प्रतिक्रिया मेरा लागि सुधारात्मक बाटोतर्फ उन्मुख हुनेछ र अन्य चलचित्रहरुमा काम गर्दा अझ सशक्त रुपमा अगाडि बढ्ने मौका मिल्ने थियो । साथै सम्पूर्ण चलचित्रप्रेमी दर्शकहरु र मिडियाहरुप्रति पनि धन्यवाद दिन चाहन्छु ।
प्रस्तुत: सुमन बैरागी