Responsive Ad Slot

latest

मिस नेपाल युवा संरक्षण दूत

Friday, November 25

/ by Admin BHOLA THAPA
काठमाडौं,
मंसिर ९ - मिस नेपाल मलिना जोशीलाई विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ)ले युवा संरक्षण दूत बनाएको छ। बिहीबार आयोजित कार्यक्रममा उनलाई डब्लुडब्लुएफका नेपाल प्रतिनिधि अनिल मानन्धरले मलिनालाई नयाँ संरक्षण दूतका रूपमा स्वागत गरेका हुन्।
'वन्यजन्तु संरक्षणका लागि युवाहरूको प्रतिनिधित्व मिस नेपालले गर्न सक्ने भएकाले यस्तो जिम्मेवारी दिँदै आएका छौं,' कार्यक्रममा मानन्धरले भने, 'मलिनालाई संरक्षण दूत घोषणा गर्न पाउँदा खुसी लागेको छ। उनले जैविक विविधताको संरक्षणमा युवापुस्तालाई प्रोत्साहित गर्नेछिन् भन्नेमा हामी ढुक्क छौं।'


गत वर्षकी मिस नेपाल सदीक्षा श्रेष्ठले पुर्‍याएको योगदानको समेत उनले चर्चा गरे। अघिल्ला मिस नेपालले निर्वाह गर्दै आएका भूमिकालाई आफूले पनि सक्दो प्रभावकारी बनाउने मलिनाले प्रतिवद्धता जनाइन्।

'वन्यजन्तु संरक्षणबारे बुझेका कुरालाई सकेसम्म फैलाउने कोशिस गर्नेछु। जलवायु परिवर्तनले नेपालका जैविक सम्पदामा पारेको असरप्रति जागरण फैलाउन पछि पर्दिन,' मलिनाले नयाँ दायित्व पाएपछि भनिन्।

आफू संरक्षणदूत हुँदा तराई र हिमाली क्षेत्र अवलोकन गर्न पाएको अनुभव सुनाइन् सदीक्षाले। लाङटाङमा आयोजना भएको 'ग्रिन हाइकर ग्रिन प्लानेट'मा सहभागी हुँदा हिमाली जैविक सम्पदाबारे जान्ने मौका पाएको उनले बताइन्। डब्लुडब्लुएफकी कम्युनिकेसन अफिसर सिमि्रका शर्माले संरक्षणमा मलिनाले प्रेरणादायी भूमिका निर्वाह गर्नसक्ने विश्वास व्यक्त गरिन्। कार्यक्रममा हिडन ट्रेजरका सुवर्ण क्षेत्री, डब्लुडब्लुएफका घनश्याम गुरूङ लगायतले बोलेका थिए।

मलिना जोशी छैटौं युवा संरक्षण दूत हुन्। यसअघि पायल शाक्य, सुगारिका केसी, शीतास्मा चन्द र जेनिशा मोक्तानले पनि यो जिम्मेवारी बहन गरेका थिए। ( साभार : नागरिक न्युज )
Don't Miss
© all rights reserved
made with by netKUTI