घनश्याम खड्का
काठमाडौ, माघ १४ - उनी २० वर्षकी थिइन्, भर्खर बीए गरेकी । बिहेको कुरो चल्यो । एमएका लागि भर्ना गरेकी थिइन् । घरमा केटा हेर्न आए ।
कुरा छिनेलगत्तै बिहे भयो, गीता ढकाल अब सधैंका लागि कोइराला भइन् । उनका दुलाहा रञ्जन कोइराला तिनताका इन्सपेक्टर थिए । यो थियो २०५० सालको कुरो ।
'आफन्तले नै माग्न आए, हामीले कुरै नबुझी छोरी दियौं,' नेपाल वायु सेवा निगमका पूर्वनिर्देशक हरेराम ढकालले भने- 'केटो रहेछ महाको फटाहा ।'
रञ्जनको आनीबानी, हरेरामले आशा गरेको आदर्श ज्वाइँको थिएन । उनको व्यवहार गीताले कल्पना गरेकी मायालु पतिको थिएन ।
'बिहे भएकै केही समयपछि ज्वाइँले छोरी कुट्न थाले,' आमा हरिपि्रया ढकाल भन्छिन्, 'हामीले राजकुमारीजसरी हुर्काएकी छोरी एउटा बेहोरा सकिएकाको हातमा परिछ भन्ने लाग्यो । ऊसँग नाता जोडिएकामा हामीलाई त्यसै साल पछुतो भयो ।'
गीता आफ्नो पढाइ र करिअर दुवै बढाउन चाहन्थिन् । तर रञ्जनले केही गर्न दिएनन् । उनले एमए पढ्न भर्ना गरिन् । रञ्जनले क्याम्पस जान दिएनन् । गीताले कृषि विकास बैंकमा जाँच दिएर अधिकृतका लागि नाम निकालिन् । रञ्जनले जागिर खान दिएनन् ।
'चाहिएको पैसा मै दिन्छु, तलाईं किन पढ्नुपर्यो भन्थ्यो छोरीलाई,' हरेराम भन्छन्, 'उसले मेरी छोरीको जिन्दगी घरको चार पर्खालभित्र मात्रै सीमित गरिदियो ।'
यति हुँदाहुँदै पनि छोरीले परिवारका लागि आफ्ना सपनाको पंखा काटिदिएर एउटी घरेलु महिला हुनसमेत राजी भएको ठान्छन् बाआमा । 'ऊ आफूचाहिँ अनेक केटी खेलाएर हिँड्थ्यो,' हरिपि्रया भन्छिन्, 'छोरीलाई चाहिँ तरकारी किन्न जाँदा पनि कुनै केटासँग लागि कि भनेर केरकार गथ्र्याे ।'
उनीहरूको बिहे जति पुरानो भयो गीतामाथि रञ्जनको मुक्का पनि उति बर्सिँदै गयो । एक दिन गीताले रञ्जनको पुरानो डायरी फेला पारिन् । 'बिहे गर्नुअघि नै उसको एउटी केटीसँग प्रेम रहेछ, परिवारले त्यसलाई अस्विकारेपछि हाम्री छोरीका लागि कुरा आएको रहेछ,' हरेराम भन्छन्, 'त्यो कुरो उसले डायरीमा पनि लेखेको रहेछ ।'
उनको रुचिको बिहे नभएकाले रञ्जनले गीतालाई कहिल्यै प्रेमपूर्ण व्यवहार गरेनन् । बिहे गरेको चार वर्षपछि जेठो छोराको जन्म भयो, ७ वर्षपछि कान्छोको ।
हल्का खटपट सधंै भइरहे पनि कान्छो जन्मेपछि भने गीता र रञ्जनको बोलचालै नहुने स्थिति आयो । 'ऊ लामो समयसम्म घरै आउँदैनथ्यो, अफिसमा काम छ भन्थ्यो,' हरिपि्रया भन्छिन्, 'तर लामो समयदेखि बाहिर अर्कै केटी राखेको रहेछ ।'
उनका अनुसार कान्छो जन्मेपछि रञ्जनले गीतालाई पैसा पनि दिन छाडे । बोल्दा पनि बोलेनन् । 'उसले यो दस वर्षमा मानसिक र शारीरिक सास्ती कति पाई भन्ने कुराको साध्यै छैन,' हरेराम भन्छन्, 'आखिरमा अपराधीले ज्यानै लिएर छाड्यो ।' पैसा दिन छाडेपछि गीताले मानाचामलको मुद्दा हालिन् । अदालतले रञ्जनको आधा तलब गीतालाई दिलाइदियो ।
त्यसपछि रञ्जनले एक रात गीताको टाउकामा पेस्तोल तेस्र्याउँदै ज्यान लिने धम्की दिए । कुटपिट पनि गरे । गीताले ज्यानको सुरक्षा पाऊँ भन्दै प्रधानमन्त्री कार्यालय, मानव अधिकार आयोगलगायत सबैतिर निवेदन हालिन् । यता रञ्जनले अंश मुद्दा हाले जसको फैसला यही माघ २९ गते काठमाडौं जिल्ला अदालतमा हुनेवाला थियो । दुई छोरा, गीता र आफ्नो गरी गीता बसेको घर चार भागमा बाँड्नुपर्ने र छोराहरू आफैंसँग बस्ने भएकाले तीन भाग आफैंले पाउनुपर्ने रञ्जनको जिकिर थियो । वारेसनामा गरेर
रञ्जन तालिमका लागि चाइना गएका थिए । 'तर अदालतले गीताको पक्षमा फैसला गर्ने पक्कापक्की थियो,' हरेराम भन्छन्, 'त्यही भएर ऊ तालिमै छाडेर यहाँ आएको हो, ऊ छोरीलाई मार्नकै लागि आएको रहेछ ।' रञ्जनले छोराहरू आफैंसँग बस्ने भने तापनि उनीहरू गीतासँग बस्ने गरेको बाआमाको दाबी छ ।
'स्कुल टाढा भएकाले ट्युसन भ्याउन जेठो छोरा रञ्जनकी आमासँग ७ महिनाअघि बस्न गएको थियो,' हरिपि्रया भन्छिन्, 'नत्र उनीहरू दुवै गीतासँगै बस्दै आएका थिए ।' छोरीको हत्या भएको दिनदेखि आफूहरूले नातीहरू कहाँ छन् भन्ने पत्तो नपाएको उनले बताइन् । उनका दुवै नातिको मोबाइलको स्विच अफ छ ।
'हामीलाई अब ती नातिको पो पीर भयो,' हरिपि्रया भन्छिन्, 'उनीहरूलाई हामी आफैंसँग राख्न चाहन्छौं ।'
रञ्जन जति नै फटाहा भए पनि आखिर आफ्नी छोरीले जन्माएका सन्तानको बाबु भएकाले ढकाल दम्पतीले 'उसबाट यो हदको व्यवहारको कहिल्यै अपेक्षा' गरेका थिएनन् । 'छोरी अचानक बेपत्ता हुँदा कतै थुनेर यातना दिएको होला भन्ने ठानेको थिएँ तर उसले त ज्यानै लिइसकेको रहेछ,' हरेराम भन्छन्, 'म उसलाई सोध्न चाहन्छु, किन लियौं मेरी छोरीको ज्यान ? किन मार्यौ तिम्रा छोराकी आमालाई ? के बिगारेकी थिई तिम्रो र गर्यौ हत्या ?'
हत्या भएको घर अहिले प्रहरीको कब्जामा छ । साँचो उनीहरूले नै लिएका छन् । सारा प्रमाण त्यही घरमा छ । रञ्जनलाई उम्काउन प्रहरीले ती प्रमाण नष्ट गर्ने हुन् कि भन्ने डर गीताका बाआमाको मनमा परेको छ । 'हाम्री छोरीको जीवनमा जे भयो त्यो कसैको जीवनमा नहोस्,' उनीहरूले भने, 'हत्यारालाई कडाभन्दा कडा कारबाही होस्, मतियारलाई पनि प्रहरीले समातोस् ।' साभार ईकान्तिपुर