काठमाडौँ, माघ १३ गते ।
श्रीपञ्चमी तथा सरस्वति पूजाको पूर्वसन्ध्यामा रेडियो पत्रकार मिलन तिमिल्सिनाको कृति मिलनको बकपत्र बजारमा आएको छ ।

कृतिको विमोचन गर्दै उज्यालो नाईन्टी नेटवर्कका कार्यकारी निर्देशक गोपाल गुरागाईंले मिलनको बकपत्रले सबैलाई बाल्यकालको झल्को दिने बताउनुभयो । बिमोचन कार्यक्रममा गुरागाईं सहित स्रष्टाहरु नारायण श्रेष्ठ, पदम गौतमले लगायतले विगत जीवनको याद गरेका थिए । सामाजिक परिवेश र ग्रामिण जीवनलाई मिलनले आफ्नो कृतिमा सरल ढंगले उतारेको भन्दै उनीहरुले यस्ता कृतिमा पनि स्रष्टाहरुको कलम चल्नुपर्ने खाँचौ औंलाएका थिए ।
कृतिका लेखक मिलन तिमिल्सिनाले पुस्तकमा आफू जस्तै युवाहरुका साझा अनुभव र अनुभूति समेट्न खोजेको बताए । कृतिमा उल्लेख सम्झना र झझल्को आफ्नो निजी खोस्टो मात्रै नभई समाज र देशकै साझा गहना हुने उनको विश्वास थियो । उहिले र अहिलेको समाज तुलना गर्दै त्योबेलाका कामलाग्दा र उदाहरणीय व्यक्तित्व र परिवेश अहिले पनि उत्तिकै सार्थक छन् भन्ने कुरा झल्काउन कृतिले सहयोग गर्ने उनले बताए । मिलन उज्यालो नाईन्टी नेटवर्कका सञ्चारकर्मी हुन् । कार्यक्रममा पुस्तकको प्रकाशक सेन्चुरी प्रिन्टिङ एण्ड पब्लिकेशनका अध्यक्ष राजन फुयालले सबैको मिलनको बकपत्रले सबैलाई आफ्नो अतित र परिवेश सम्झाउन प्रेरित गर्ने बताउनुभयो । श्रुति संवेक कार्यक्रमका सञ्चालक अच्युत घिमिरेले पुस्तक वाचनमा मिलनको कृतिले आफूलाई छुट्टै स्वाद दिएको टिप्पणी गरे ।