कास्की पुस २६ गते ।
पोखरास्थानीय शासन उत्तरदायी संयन्त्रको सहयोग तथा रेडियो गण्डकी र गण्डकी टेलिभिजनको संयुक्त आयोजनामा आज कास्कीको कास्कीकोट गाउँ विकास समितिको कार्यालय प्राङ्गणमा सार्वजनिक सुनुवाई कार्यक्रम हुँदैछ । गाउँ विकास समितिमा विनियोजित कूल अनुदान रकम तथा बजेटको ३५ प्रतिशत बजेट लक्षित समूहमा कार्यान्वयन भएको छ कि छैन भन्ने विषयमा सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रममा कास्कीकोट गाउँ विकास समितिका सम्पूर्ण वडाका सेवाग्राहीहरु, राजनीतिक दलका प्रतिनिधिहरु, महिला, बालबालिका तथा दलित समुदायका प्रतिनिधिहरूको सहभागिता छ । सार्वजनिक सुनुवाई कार्यक्रम अन्तर्गत लक्षित समूहका सेवाग्राहीले राखेका जिज्ञासा तथा प्रश्नहरुको गाउँ विकास समिति सचिव, राजनीतिक दलका प्रतिनिधि एवं सरोकारवालाहरुले जवाफ दिनेछन् । स्थानीय निकाय तथा सेवा प्रदायकको काम कारवाहीमा पारदर्शिता, सेवाग्राहीप्रति जवाफदेहीता गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।