नारायण सापकोटा,
मकवानपुर, हेटौडा पुस २६ गते ।
जनमुक्ति सेनाको दर्ता प्रकृयामा छुटेको भन्दै माओवादीका पूर्व लडाकुहरुले आह्वान गरेको मकवानपुर बन्दको प्रभाव आज मकवानपुरमा सामान्य परेको छ । माओवादी निकटका मकवानपुरका केही पूर्व लडाकुहरुले जनमुक्ति सेना दर्ता प्रक्रियामा छुटेका लडाकुहरुलाई पुनः जनमुक्ति सेनामा भर्ना गरिनुपर्ने माग राख्दैं आजदेखि अनिश्चितकालिन मकवानपुर बन्दको आह्वान गरेका हुन् । प्रहरीले बन्दकर्तामध्ये उमेश ठकुरी (विज्ञान) र दिपक हमाललाई हिजैं साँझ पक्राउ गरी जिल्ला प्रहरी कार्यालय मकवानपुरमा राखेको छ ।
यसैबीच बन्दको हल्लाले आज मकवानपुरका सबै शिक्षण संस्था, उद्योग कलकारखाना, यातायात, व्यापार व्यवसाय ठप्प भएको छ । तर जिल्लाका अधिकांस सरकारी कार्यालयहरु भने खुलेका छन् । सडकमा बन्दकर्ता नदेखिए पनि बन्दको हल्लाले आज जिल्ला बन्द भएको हो । यता जिल्लाका राजनीतिक दल र मकवानपुर उद्योग वाणिज्य सङ्घबीच बन्दको विरोध गर्ने सहमति भएको छ ।
मकवानपुर उद्योग वाणिज्य सङ्घमा बसेको सर्वपक्षिय छलफलमा जिल्लाका सबैं उद्योग कलकारखाना र व्यापार व्यवसाय नियमित सुचारु गर्न आग्रह गरिएको छ । बैंठकमा एकीकृत नेकपा माओवादी मकवानपुरका सह–सेक्रेटरी बलराम बल, एमाले, काङ्ग्रेसलगायत राजनीतिक दलका प्रतिनिधिहरूको सहभागिता थियो ।