काठमान्डौ पुस २६ गते ।
उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ प्रकाशले चीनिया प्रधानमन्त्री वेन जिआवाओको स्थगित नेपाल भ्रमण छिट्टै तय हुने बताउनुभएको छ । चिन सरकारले कुटनीतिक माध्यमबाट भ्रमणको मिति तय गरिने जानकारी गराएकोले द्विपक्षीय समझदारी अनुसार छिट्टै सकारात्मक निर्णय हुने उहाँले बताउनुभएको हो । व्यवस्थापिका संसदको अन्तराष्ट्रिय सम्बन्ध र मानवअधिकार समितिको आज बसेको बैठकमा मन्त्री प्रकाशले कुटनीतिक संवेदनशीलतालाइ ध्यानमा राखेर चिनियाँ प्रधानमन्त्रीको भ्रमणको नीति तय हुने बताउनुभएको हो ।
अरू देशको नीतिको प्रभावमा परेर चिनियाँ प्रधानमन्त्रीको भ्रमण स्थगित नभएको दाबी गर्दै परराष्ट्रमन्त्रीले सरकारको कुटनीतिक कमजोरीले पनि स्थगित नभएको जीकिर गर्नुभयो । प्रधानमन्त्री डा. बाबुराम भट्र्टराइले भ्रमणको प्रसङ्ग कोट्याएपनि सरकारले चिनिया प्रधानमन्त्रीको मिति कहिल्यै सार्वजानिक नगरेकोले यसलाई कुटनीतिक विफलता भन्न नसकिने उहाँले दाबी गर्नुभयो । चीन सरकारले आन्तरिक कारणले भ्रमण स्थगित गरेका कारण अनावश्यक आशङ्का गर्नुको औचित्य नहुने मन्त्री प्रकाशको भनाइ थियो । मन्त्री प्रकाशले हङकङमा रहेका झण्डै ३१ हजार नेपाली कामदारलाई भइरहेको समस्या सन्दर्भमा प्रभावकारी कुटनीतिक पहल गर्ने आश्वासन जनाउनुभयो ।
बैठकमा सभासद्हरुले भने चिनियाँ प्रधानमन्त्रीको नेपाल भ्रमण स्थगित हुनुको वास्तविक तथ्य अहिलेसम्म सार्वजानिक नगराएको आपत्ति जनाएका छन । सरकारको कुटनीतिक विफलताका कारण चिनिया प्रधानमन्त्रीको भ्रमण स्थगित भएको सभासद्हरुले आरोप लगाएका छन् । माओवादीका सावित्रीकुमार काफ्ले, नेपाली काङ्गे्रसका कमला थापालगायतले सरकार कुटनीतिक रुपमा असफल भएको दाबी गरे ।
मधेसी जनअधिकार फोरम गणतान्त्रिकका चन्द्रिकाप्रसाद यादवले चिनियाँ प्रधानमन्त्रीको भ्रमण अचानक अवरुद्ध हुनुको वास्तविकता सरकारले अहिलेसम्म पनि जानकारी नगराएको आरोप लगाउनुभयो । उहाँले सरकारी दाबी हास्यास्पद भएको जीकिर गर्दै वास्तविक तथ्य समितिलाई जानकारी गराउन माग गर्नुभएको थियो ।