Responsive Ad Slot

latest

दस पाथी कोदोमा घरबारी लिलाम I

Friday, January 27

/ by Admin BHOLA THAPA
शाहीमान राई
भोजपुर, माघ १३ - मानेभञ्ज्याङ ८ का ८८ वर्षीय ठोकबहादुर तामाङ परिवारले दस पाथी कोदोको समयमा सावाँव्याज बुझाउन नसक्दा जग्गाजमिन लिलाम भएको छ ।


मानेभञ्ज्याङ-७ का रामबहादुर खत्रीले २२ वर्षअघि तामाङ परिवारलाई दिएको दस पाथी कोदोको सावाँव्याज तिर्न नसकेपछि खेत र घरबारी लिलाम गरेका हुन् । उनीहरु आफ्नो घरबारी र खेत लिलाम भएको थाहा पाएपछि अत्तालिएका छन् । ऋण बुझाएर खेत उकास्न खोज्दा साहुले बेवास्ता गर्दै आएको गुनासो गरेका छन् । साहुले चलअचल सम्पतिबाट ऋण असुली गर्न जिल्ला अदालतमा मुद्दा दिएर फैसला भएको निरक्षर र दृष्टिबिहीन तामाङ परिवारले पत्तै पाएन । यतिका दिन चुप लागेर बसेका साहुले एक्कासि घरबारी छाड्न खवर पठाएपछि चकित बनेका हुन् ।

जिल्ला अदालतमा वास्तविकता बुझ्दा मुद्दाको प्रतिवादी नथापेकाले २०६५ सालमा एकपक्षीय फैसला गरी घरबारी र खेत खत्रीको नाममा गइसकेको थाहा पाए । ‘हामीलाई मुद्दा लगाएको थाहै भएन, कसैले भन्दा पनि भनेनन् ।’ जग्गाधनी थोकबहादुर तामाङका दृष्टिबिहीन छोरा राजमान तामाङले भने, ‘अदालतले हामीविरुद्ध एकपक्षीय फैसला गरेको रहेछ ।’

छिमेकी रामबहादुर खत्रीबाट २०४६ सालमा दस पाथी कोदो लिएको दृष्टिबिहीन तामाङले बताए । कोदोसँगै केही नगद पनि लिएकाले दुवैको सावाँव्याज गरी ४ हजार रुपैयाँ तिर्नुपर्थ्यो । त्यो पनि भाकामा तिर्न नसकेपछि २०५० पुस ९ गते सावाँ, व्याज र हर्जाना गरी दोब्बर ८ हजार रुपैयाँ कायम गरी घरबारी र खेत व्याज घटौनीमा भोकचास गर्न दिएका थिए । तर सोही सर्तनामा विपरीत २० हजार रुपैयाँ लिएको किर्ते तमसुक पेस गरी २०६० सालमा जिल्ला अदालतमा मुद्दा दायर गरेका थिए । तामाङ र खत्रीबीच साक्षी रोहबरमा भएको सक्कली सर्तनामा पत्र सुरक्षित छ ।

अस्ति साउनमा एक्कासि घरबारी छाड्न खबर पठाएपछि मात्र थाहा पायौं,’ पीडित राजमान तामाङले भने, ‘खत्री भने देखा परेका छैनन्, भेटेरै कुरा गर्नु छ ।’ अदालतको फैसलाको आधारमा खत्रीले मालपोत कार्यालयबाट लालपूर्जा समेत आफ्नो नाममा पारिसकेका छन् । अदालतमा मुद्दा दिएर फैसला भएको वर्षौ बितिसक्दा पनि जान्ने बुझ्ने छरछिमेकी तथा सम्बन्धित निकायले जानकारी नगराएको पीडित तामाङले गुनासो गरे ।

सदरमुकाममा लेखापढी व्यावसाय गर्दै आएका खत्रीले तामाङको नाममा रहेको कित्ता नं २६ को घरबारी ९ रोपनी १२ आना २ पैसामध्ये ७ रोपनी र कित्ता नं ३८६ को खेतबारी ३ रोपनी ६ आना ३ पैसा गरी ११ रोपनी जग्गा आफ्नो नाममा पारिसकेका छन् । खेतमा १२ मुरी धान फल्छ । सरकारी मूल्यांकन अनुसार उक्त जग्गाको मूल्य खेततर्फ प्रतिरोपनी १६ हजार पाँच सय र पाखाबारी ९ हजार ९ सय रुपैयाँ छ । तर अदालतले २० हजार रुपैयाँको विगोमा तामाङ परिवारको सगोलमा रहेको जग्गाजमिन खत्रीको नाममा लिलाम गरेको छ । बैंकले चलअचल सम्पतिबाट धितो लिलाम गरेर ऋण अशुली गर्दा बढी मूल्यमा बिक्री भए बढी भएको रकम सम्बन्धित पक्षलाई फिर्ता दिने गर्छ । तर यहाँको अदालतले किर्ते कागजका आधारमा अन्यायपूर्ण फैसला गरेको पीडित परिवारले गुनासो गरेका छन् । अदालतले फैसला गरेको म्याद गुज्रिसकेकाले पुनरावेदन गर्न समेत नपाउने भएका छन् । साहु रामबहादुर खत्रीले भने कानुनबमोजिम तामाङको घरजग्गा आफ्नो नाममा आएको बताए । ऋण तिरेनन्, बेवास्ता गरे, मुद्दा दिएँ, जितें’ खत्रीले भने, ‘चलनचल्तीको मूल्य दिए जग्गा फिर्ता गर्छु ।’ कान्तिपुर बाट
Don't Miss
© all rights reserved
made with by netKUTI