इस्लामावाद, फागुन १६- उत्तरी पाकिस्तानमा आज एक अज्ञात बन्दुकधारीले यात्रुबाहक बसमा आक्रमण गरी कम्तीमा पनि अठारजनाको हत्या गरेको समाचार छ ।
यात्रु लिएर सडकमा गुडिरहेको बसमाथि आज अकस्मात एक अज्ञात बन्दुकधारीले गोली चलाएको प्रत्यक्षदर्शीले जानकारी दिएका छन् ।
उत्तरी पाकिस्तानको कोहिस्तान भन्ने ठाँउमा गुडिरहेको बसमाथि एकजना अज्ञात बन्दुकधारीले हमला गरेको थियो । सो हमलामा परी अन्य ८ नागरिक घाइते भएको बताइएको छ ।
सो बसमा २६ जना यात्रु यात्रा गरिरहेका थिए । सो बस उत्तरी सहर खोस्त सहरबाट रावलपिण्डीतर्फ जाँदै थियो ।
सो बन्दुकधारीको खोजी भईरहेको बताउँदै स्थानीय उर्दु भाषाको टेलिभिजनले आक्रमणको बारेमा थप अनुसन्धान जारी रहेको उल्लेख गरेको छ । आज बिहान भएको सो घटनापछि सो स्थानमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेको पनि सो टेलिभिजनले जनाएको छ
पाकिस्तानमा बसमाथि हुने यस्ता आक्रमणका घटनालाई सामान्य मानिन्छ । मुस्लिम समुदायका बीचको आन्तरिक द्वन्द्वका कारण पनि यस्ता घटना बढी मात्रामा हुने गर्दछन् । रासस÷सिन्ह्वा