Responsive Ad Slot

latest

रूसमा राष्ट्रपतिपदका लागि पाँचमध्ये तीन प्रत्यासीसँग भेटको संस्मरण I

Tuesday, February 28

/ by Admin BHOLA THAPA

-कृष्णप्रकाश श्रेष्ठ
अहिले मास्कोमा मात्र नभई रूसभरि नै आउँदो ४ मार्च (सन् २०१२) का दिन विश्वको सात खण्डमध्ये एक खण्डको शासनको बागडोर सम्हाल्ने राष्ट्रपतिपदका लागि निर्वाचनको माहौल छ । संसदीय राजनैतिक दलहरूमध्ये 'एदिनाया रसिया' ('एकीकृत रूस') को तर्फबाट वर्तमान प्रधानमन्त्री भ्लादिमिर पुटिन, रूस कम्युनिष्ट पार्टीबाट गेन्नाडी जुगानोभ, लिबरल डेमोक्रेटिक पार्टीबाट भ्लादिमिर झिरिनोभ्स्की, सोसल-डेमोक्रेट भएको घोषणा गर्ने 'स्प्राभेदलिभाया रसिया' ('न्यायपूर्ण रूस') बाट सेर्गेइ मिरेनोभको उम्मेदवारी दर्ता गरिएको थियो ।

देशको संसद राजकीय दूमामा निर्वाचित हुन ७ प्रतिशत मत प्राप्त गर्नुपर्ने प्रावधान पूरा गर्न नसक्ने राजनैतिक दलले राष्ट्रपतिपदका लागि उम्मेदवारी दिन चाहेमा २० लाख मतदाताको हस्ताक्षर फाराम निर्वाचन आयोगमा बुझाउनुपर्ने नियमअनुसार राजकीय दूमाको निर्वाचनमा स्थान ग्रहण गर्न ७ प्रतिशतको तगरो नाघ्न नसकी दूमामा पुग्न नसकेको 'याब्लोको' पार्टीका नेता ग्रिगोरी याब्लिन्स्कीले २५ प्रतिशतभन्दा बढी क्सेरेक्स गरिएको हस्ताक्षर भएको फाराम बुझाएको भनी उम्मेदवारी खारेज गरिएको थियो भने युवा अरबपति मिखाइल प्रोखोरोभका फारामहरूमा नियमले छूट दिन मिल्ने १-२ प्रतिशत मात्र रद्द भई उम्मेदवारी दर्ता भएको थियो । प्रान्तीय गभर्नर पदमा रहेका अर्का एकजनाको उम्मेदवारी निर्वाचनको नियम पूरा गर्न असमर्थ भएको हुँदा पहिलो चरणमै अस्वीकृत भएको थियो । यस प्रकार राष्ट्रपतिपदका लागि पाँचजना उम्मेदवारबीच प्रतिस्पर्धा चलिरहेको छ ।

आफूले भेट्ने मौका पाएका रूसका तीनजना नेताहरू राष्ट्रपतिपदको उम्मेदवार भएको सन्दर्भमा मलाई अतीतको सम्झना भएर आयो र यसबारे नेपाली मित्रहरूलाई बताउने पनि इच्छा जाग्यो । अहिले मलाई रूस महासंघको सर्वोच्च पदका लागि उठेका उपरोक्त पाँचजना उम्मेदवारहरूमध्ये पहिला र अन्तिम दुर्इजनाबाहेक बीचका तीनजनासँग प्रत्यक्ष भेट र छोटो कुराकानी भएको सम्झना भइरहेको छ ।

वर्तमान प्रधानमन्त्री भ्लादिमिर पुटिनलाई सबैले भेट्न कहाँ पाउने र ? सन् २०१० को २१-२४ नभेम्बरमा रूसको सांस्कृतिक राजधानी मानिने नेभा तटवर्ती सेन्टपिटर्सबर्गमा विश्वका बाघ पाइने १३ देशको उच्चस्तरीय प्रमण्डलको सहभागितामा सम्पन्न अन्तर्राष्ट्रिय बाघ संरक्षण शिखर सम्मेलनमा भाग लिन आउनुभएका तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालले भेटवार्ता गर्नुभएको थियो भने सन् २००५ मा रूसका लागि तत्कालीन नेपाली राजदूत हिरण्यलाल श्रेष्ठले राष्ट्रपतिसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्दा भेट्नुभएको थियो ।

यस पंक्तिकारले चाहिं सन् २००२ मा नेपालको संसदको माथिल्लो सदनका अध्यक्ष मोहम्मद मोहसीनको नेतृत्वमा रूस भ्रमणमा आएको नेपाली संसदीय प्रमण्डलको अनुवादकको हैसियतले रूसको व्यवस्थापिकाको उपल्लो सदन संघीय परिषदका तत्कालीन अध्यक्ष सेर्गेइ मिरोनोभसँग कुराकानी गर्ने र रूसी भाषामा प्रकाशित आफ्ना केही पुस्तकहरू उपहारस्वरूप प्रदन गर्ने सुअवसर पाएको थियो । केही महीना अघिसम्म रूसको नेतृत्वदायी मर्यादाक्रममा तेस्रो स्थानमा रहेका सेर्गेइ मिरोनोभ अहिले पहिलोपल्ट राष्ट्रपति पदका लागि प्रतिस्पर्धामा उत्रेका छन् ।

रूसको राष्ट्रिय दुमामा उपसभामुखको पद ओगट्ने र पहिलेदेखि नै राष्ट्रपतिपदका लागि उम्मेदवार हुँदै आएका नेताद्वय गेन्नाडी जुगानोभ (रूस कम्युनिष्ट पार्टी) तथा भ्लादिमिर झिरिनोभ्स्की (लिबरल डेमोक्राटिक पार्टीसंग चाहिं अनौपचारिक वातावरणमा मेरो भेटघाट भएको हो । केही वर्षअघि रूसको भातृ पार्टीको महाधिवेशनमा अतिथिको रूपमा मास्को आउनुहुँदा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का एक नेता के.पी.ओलीद्वारा दिइने वक्तव्यको रूसी पाठ तैयार पारेर म उहाँकै साथमा मास्कोको लेनिन्स्की प्रोस्पेक्टस्थित ‘दोम तुरिस्ता’ होटलको सभाकक्षमा आयोजित महाधिवेशनको समापन समारोहमा पुगेको थिएँ ।

भारतीय प्रतिनिधिको छोटो र सारगर्भित वक्तव्य सुनेपछि मैले जहिले पनि भाषणमा नाराहरू दोहोर्याउनुको सट्टा यसरी तर्कसङ्गत रूपमा भावाभिव्यक्ति गर्ने कलामा भारतीयहरूबाट नेपालीहरूले पनि सिक्न सक्तछन् भनी टिप्पणी गरेको थिएँ र के.पी.ओलीले पनि नाराहरू छोट्याएर बोल्नुभएको थियो भने समारोहपश्चात् उहाँले भारतीय नेतासंग मेरो परिचय पनि गराउनुभएको थियो । समारोहका सहभागीहरू हातमा रक्सीको प्याला लिएर टोस्टप्रस्ताव राख्दै रूसका कम्युनिष्ट नेताहरूसँग भोड्काको प्याला जुधाउन जाने क्रममा म पनि अनुवाद गर्ने दियित्व पूरा गर्न नजिक पुग्दा मेरो हातमा प्याला नभएको देखेर गेन्नाडी जुगानोभले प्यालासहित आउने आग्रह गरेका थिएँ र यसरी रूसका कम्युनिष्ट नेतासंग प्याला जुधाएर कुरा गर्ने मौका मिलेको थियो ।

सोभियत संघमा गोर्बाच्योभद्वारा पेरेस्त्रोइका (पुनर्निर्माण) नीति लागू गरिएको समयमै लिबरल डेमोक्रेटिक पार्टीका संस्थापक भ्लादिमिर झिरिनोभ्स्कीसँग चाहिं भोजमा सरीक हुँदै कुरा गर्ने समेत मौका मिल्यो । नेपाली राजदूतावासमा आयोजित भोजको अवसरमा यस्तो अवसर पाइएको थियो भने अर्कोपटक नेपाली प्रतिनिधिमण्डलको साथमा उनकै पार्टी अफिसमा गइएको थियो ।

रूसका हास्यव्यङ्ग्य कलाकारहरूलाई समेत माथ गर्ने क्षमता भएका र जनतासमक्ष देखिने जुनसुकै मौका पनि नचुकाएर जोडदार भाषण दिन प्रख्यात नेता ओभरकोट लगाएर कतै बाहिर जान लागेकोले धेरै वेर कुरा हुन पाएन, तर उनका सहयोगीहरूबाट स्वागत-सत्कार पाउनुका साथै झिरिनोभ्स्कीलिखित पुस्तकहरू र उनको बारेमा खिंचिएका सिनेक्यासेट हालिएको झोला उपहार लिएर फर्किएका थियौं । अरब भाषा र संस्कृतिका ज्ञाता झिरिनोभ्स्कीको कार्यकक्षमा तत्कालीन इराकी नेता साद्याम हुस्सेइनको फोटो टाँगिएको मलाई त्यतिखेर सम्झना भएर आएको थियो, जतिखेर रूसको सल्लाहलाई समेत अस्वीकार गर्ने इराकी नेताको दुःखान्त अन्त्य भएको थियो ।

हालै चुनाव अभियानको क्रममा रूसमा २३ फेब्रुअरीका दिन मनाइने सेनादिवसका दिन आयोजित आमसभामा लिबरल डेमाक्रेट नेता कर्णेलको जङ्गीपोशाकमा डटेर भाषण दिंदै रूसलाई अमेरिकाको तर्फबाट खतरा भएको तर्क फलाकिरहेका थिए । पाँचौं उम्मेदवार अरबपति मिखाइल प्रोखोरोभ त भर्खरै मात्र टेलिभिजनको पर्दामा देखिन थालेका छन् र झिरिनोभ्स्कीसंगको वाक्युद्धमा समेत उनको संयम प्रशंसनीय लाग्यो । उनको प्रतिनिधिको हैसियतले उनैकी पत्रकार बहिनी, एक प्रकाशनालयकी सञ्चालिका तथा लोककल्याणकारी कोषकी पनि प्रमुख इरिना प्रोखोरोभाद्वारा राष्ट्रपतिपदका लागि प्रमुख प्रत्यासी भ्लादिमिर पुटिनका प्रतिनिधि प्रसिद्ध चलचित्रनिर्देशक एवं सांस्कृतिक कार्यकर्ता सेर्गेइ मिखाल्कोभसंग सम्पन्न गरिएको वाक्युद्धको मास्कोवासीहरू चर्चा-परिचर्चा गरिरहेका छन् ।

चुनाव अभियानको क्रममा हालै टेलिभिजनमा यो जाक्युद्ध देखाइएको थियो । स्वयं सेर्गेइ मिखाल्कोभले नै मिखाइल प्रोखोरोभको सट्टा उनकी बहिनी राष्ट्रपतिपदमा उम्मेदवार भएकी भए समर्थन गर्ने उद्गार प्रकट गरेकोबाट इरिना प्रोखोरोभाको विद्वता र वाक्पटुताको बोध हुन्छ । तर रूसमा महिला राष्ट्रपति हुने दिन त्यति नजिक भएजस्तो यस पंक्तिकारलाई लाग्दैन । निर्वाचनको पहिलो टुरमा नै विजयी हुने विश्वास राख्ने बहालवाला प्रधानमन्त्रीको हैसियतले रेडियो र टेलिभिजनमा अक्सर देखिने सत्तापक्षका उम्मेदवारलाई अन्य उम्मेदवारहरूले आफूहरूसँग प्रत्यक्ष वाक्युद्धका लागि आह्वान गरिरहे तापनि आफ्ना प्रतिनिधिलाई पठाइने गरेको उत्तरमा उनीहरूले पनि आफ्ना प्रतिनिधिलाई नै पठाउन थालेका छन् ।
रेडियो र टेलिभिजनमा मात्र नभई सडक र चोकहरूमा आयोजना गरिने सभाहरूमा पनि स्वच्छ चुनावको नारा घन्काउँदै मानिसहरू ओइरिंदै छन् ।

सत्तापक्ष र विपक्षको समर्थनमा सभाका लागि केन्द्रीय स्थलको पूर्वानुमति प्राप्त गर्न महानगरपालिका खुल्नुअगावै लाम लाग्ने होडबाजी र प्रतिपक्षीहरूका प्रतिनिधिहरूबीच खिंचातानीका समाचारहरू पनि सुनिंदै छ । चुनाव लडिरहेका उम्मेदवारका पक्षधरहरूबाट मात्र आमसभाको आयोजना गरिने नभई विभिन्न राजनैतिक विचारधारा राख्ने तर मुख्यतः कुनै उम्मेदवारको पक्षधर नरहेका नगरवासीहरू पनि स्वच्छ चुनावको नाराअन्तर्गत अभूतपूर्व आमसभाको आयोजनामा उत्रेका छन् । बोलोत्नाया प्लोश्शाद र साखारोभ मार्गमा सम्पन्न यस्तो विशाल आमसभापश्चात् सत्तापक्षका उम्मेदवारको समर्थनमा विजयपार्कमा १ लाख मानिस जम्मा हुने जनाइएकोमा १ लाख ३० हजार मानिस भेला हुन पुगेकाले महानगरपालिकाबाट तोकिएको जरिबाना १ हजार रुबल स्वयं उम्मेदवारले बुझाएका थिए । मतदाताहरूलाई सोच्ने सम्भावना दिइने हुनाले कुनै पनि प्रचारमा कानूनी रोक लागेको हुँदा निर्वाचनको अघिल्लो दिनबाहेक अरु दिन निर्वाचनपछि पनि विभिन्न आमसभाहरूको लहर जारी रहने देखिन्छ ।

विपक्षी उम्मेदवारहरूले जनताका लागि केही गर्न नसकेको आरोप लगाइने भए पनि सत्तापक्षले विपक्षीहरूको नारालाई निस्तेज पार्ने प्रयास गरिरहेको देखिन्छ । पहिलोपल्ट बोलोत्नी प्लोश्याद भनिने चोकमा उत्रेको विशाल जनसमुदायको नारापश्चात् राष्टपति मिमित्री मेद्भेदोभद्वारा राजनैतिक दलको दर्तामा होलोपना अपनाउने, राष्ट्रपतिपदका लागि उम्मेदवारी दिनेले बुझाउनुपर्ने हस्ताक्षरको संख्या घटाउने, प्रान्तीय गभर्नरको नियुक्ति राष्ट्रपतिबाट गरिने अहिलेको स्थितिलाई बदलेर गभर्नरपदको लागि निर्वाचन गराउने जस्ता कदमहरू चाल्न विधेयेकको मस्यौदा दूमासमक्ष प्रस्तुत गरिएको थियो भने प्रधानमन्त्रीबाट चाहि. धाँधलीरहित निर्वाचन सम्पन्न गर्न प्रत्येक बुथमा त्यहाँको प्रक्रिया इन्टरनेटमा हेर्ने सम्भावना प्रदान गर्न टेलिक्यामरा जडान गर्ने निर्देशन दिइएको थियो ।

यसरी उदाहरणीय रूपमा अनुशाशित र शान्तिपूर्ण ढङ्गले बोलोत्नाया प्लोश्शादमा आयोजित आमसभामा गुञ्जेको स्वच्छ निर्वाचनको माग सबैको साझा नारा बन्न पुगेको छ भन्न सकिन्छ । खास गरी वर्तमान राष्ट्रपति दिमित्री मेद्भेदेभले 'एदिनाया रसिया' पार्टीको महाधिवेशनमा राष्ट्रपतिपदका लागि भ्लादिमिर पुटिनको नाम प्रस्तावित गरी आफू प्रधानमन्त्री भएर देशको आधुनिकीकरणको आफ्नो योजना साकार गर्ने इच्छा जाहेर गरेपछि माथिबाटै सबै निर्णय लिइने भएपछि चुनावको औचित्य नै के भन्ने सन्देशको प्रत्याभूति गरी जनमानसमा स्वस्फूर्त ढङ्गले विरोधको भावना जागी चधिकांश मतदाताहरूले राजकीय दूमाको निर्वाचनमा सत्तारूढ दलबाहेक अन्य दललाई मत दिएको हुँदा विपक्षमा रहेका तीनै पार्टीले वर्तमान दूमामा पहिलेको तुलनामा निकै बढी स्थान गरे तापनि दूमाको निर्वाचनमा धाँधली भएको आरोप लगाउँदै स्वच्छ चुनावको नारालाई अङ्गीकार गरेका छन् ।

अन्यथा राष्ट्रपतिको कार्यावधि ४ वर्षबाट ६ वर्षलम्ब्याइएको भए तापनि दोस्रोपटक राष्ट्रपतिपदका लागि दिमित्री मेद्भेदोभ नै उम्मेदवार घोषित गरिएका भए सम्भवतः अहिलेको जस्तो राजनैतिक चहलपहलको अवस्था सृजना हुने थिएन भन्ने मलाई लाग्छ । विपक्षले राष्ट्रपतिपदको निर्वाचनमा अनिवार्यतः दोस्रो टुर हुने प्रचार गरिरहेका छन् भने सत्तापक्षले चाहिं पहिलो टुरमै विजयश्री प्राप्त गर्ने आशा राखेको छ ।
Don't Miss
© all rights reserved
made with by netKUTI