जाजरकोट, १४ चैत । एसएलसी परीक्षामा चिट खोसेको भन्दै जाजरकोटको एक गाउँमा प्रमुख जिल्ला अधिकारीको टोलीले बासै नपाएको थाहा भएको छ। अनिवार्य गाणित विषयको परीक्षाको दिन परीक्षा कडा गरेको भन्दै खगेनकोटको दल्लीमा प्रजिअको टोलीलाई साँझमा स्थानीय एक शिक्षकले घरमा बास बस्न नदिएको बताइएको छ।

खड्काले घरमा बस्न नदिएपछि प्रजिअको टोली दल्लीस्थित इलाका प्रहरी कार्यालयमा गइ बसेको थियो। एक दिन अगाडि आफनै घरमा स्वागत गरेर वास वस्ने व्यवस्था गरिदिएका खड्काले परीक्षामा कडाइ गरेको भन्दै प्रमुख जिल्ला अधिकारीको टोलीलाई अपशव्द प्रयोग गरेर घरबाट निकालिदिएको जिल्ला शिक्षा अधिकारी गिरमान थापाले बताए।
शुक्रबार बिहान परीक्षा अनुगमन गरी दिउसो गाउँमा अन्य काम सकेर राति ८ बजेतिर बास बस्न भनी प्रजिअ सहितको टोली खड्काको घरमा जादा त पूरै ढोकाहरु बन्द रहेको उनले बताए।
हाम्रो टोली देखेर नजिकैको होटेलको साहुजीले खड्कालाई सिडीओ साहेबहरु आउनुभएको छ भनेर बोदलाउँदा खड्काले बाहिर आएर को सिडीओ, को डीएसपी को जिशिअ राति राति अर्काको घरमा आउने को हो तपाइँ भनेर बास बस्नै नदिएको थापाले नागरिकसँग गुनासो गरे। त्यसपछि नजिकैको होटेलमा उठीउठी भात खाएर प्रहरी चौकीमा गएर बास वस्नु पर्यो, उनले थपे।
उक्त परीक्षा केन्दमा परीक्षामा स्थानीयहरुको घुसपैठ भएर व्यापक अनियमिता भएको बताइको छ। परीक्षा सकिएपछि यस्ता अनियमिताबारे व्यापक समीक्षा हुने थापाले बताए। त्यसपछि दोषीहरुमाथि कारबाहीको प्रक्रिया अगाडि बढाइने जिशिअ थापा बताउँछन्।