Responsive Ad Slot

latest

घाइतेको शरीरमा ११ वर्षदेखि बमको छर्रा I

Friday, March 30

/ by Admin BHOLA THAPA

(एलबी थापा)

प्युठान, १७ चैत । सदरमुकाम खलङ्गानिवासी एक स्कुले किशोरीको ११ वर्षअघि शरीरमा लागेको बमको छर्रा अझै झिकिएको छैन ।

खलङ्गा–९ बूढाचौरनिवासी पिंकी विक शरीरमा लागेको बमको छर्रा आर्थिक अभावले शल्यक्रिया गर्न नसकेपछि शरीरभरि गोलीका छर्रा बोक्दै हिँडिरहेकी छ । पढाइ सकेर घर फर्कंदै गर्दा २०५७ चैत २७ गते खलङ्गा–९ भन्ज्याङमा बाटो छेउमा बेवारिसे छाडिएको बम विस्फोटमा विक घाइते भएकी थिइन् ।

साथीसँगै घर फर्कंदै गर्दा बेवारिसे बम पड्किँदा उनीसँगै अन्य पाँच साथीसहित बाटो हिँड्ने अन्य सर्वसाधारणसमेत घाइते भएका थिए । घटनामा उनीसँगै खलङ्गा–९ का पद्मा विक, धनबहादुर विक, माया बस्नेत, खलङ्गा–२ का हुमलाल नेपाली र खैरा–१ का राधिका खड्का घाइते भएका थिए । पीडितका अनुसार विकसहित सम्पूर्ण घाइते उनीहरूले अहिलेसम्म पनि उपचार पाउन सकेका छैनन् ।

शरीरभरि बमका छर्रा लागेका ६ मध्ये घरमा आर्थिक हुने दुईजनाले उपचार गराए पनि गरिब परिवारका पिंकीसहित चारजनाले आर्थिक अभावले उपचार गराउन सकेका थिएनन् । चिकित्सकका अनुसार पिंकीका शरीरका विभिन्न भागमा अझै २०÷२५ जति छर्रा बाँकी छन् । ‘चिकित्सकले औषधि खाएमा आफैँ छर्रा निस्कन्छ भनेका थिए’–उनले भनिन्–‘थुप्रै औषधि खाएँ, अझै पनि छर्रा निस्केको छैन ।’

बम विस्फोट हुँदा कक्षा एकमा पढ्ने विक अहिले स्थानीय महेन्द्र उच्चमाध्यमिक विद्यालयमा कक्षा आठमा अध्ययनरत छिन् । उन्नाइस वर्षीया विकले छर्रा लागेको ठाउँमा शरीर दुखिरहने भएकाले पढ्नका लागि बाधा हुने गरेको बताइन् । ‘

घटना भएलगत्तै नेपालगन्ज गएर उपचार गरे पनि शरीरको दुखाइ बीसको उन्नाइस भएन’, विकका बुवा गोविन्द विकले भन्नुभयो, ‘परिवारलाई खानलाई न पैसा पुग्दैन, झन् अप्रेसन गर्ने त परैको कुरा भयो ।’ उहाँको हात, खुट्टा, ढाड र शरीरभरि बमका छर्रा रहेका छन् ।
–ः ३ ः–

‘आफूले आर्थिक अभावकै कारण थप उपचार गराउन सकिन’–उनले भनिन्–‘पैसै छैन, कसरी उपचार गर्ने, कहाँ लैजाने ? स्थानीयको सहयोगमा विभिन्न सरकारी निकायमा पनि सहयोगको याचना गरे पनि कसैले सहयोग गरेन’, विकको गुनासो छ ।

‘हाल आएर एकातिर गोलीको छर्रा निकाल्नुपर्ने, अर्कातिर पढाइ पुरा गर्नुपर्ने’ विद्यालयका शिक्षक अष्टकुमार श्रेष्ठले भन्नुभयो–‘दुवै पिरले मानसिक पीडा थपिएको छ ।’ आर्थिक हिसाबले विपन्न परिवारका घाइते पिंकीको घरमा उनीसँगै बुबा, आमा र तीन भाइ छन् । सदरमुकाममै बेवारिसे बम विस्फोट भएको तत्कालीन विद्रोही पक्ष वा राज्यपक्ष दुवै पहिचान नभएकाले पीडित विकको परिवारले सरकारले पीडितका लागि दिने सेवा सुविधासमेत केही पनि पाएका छैनन् ।

सदरमुकामकै द्वन्द्वपीडितले राहत नपाएको दुःखको कुरा भएको उल्लेख गर्दै प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्रीले उपचार र राहतका लागि सक्दो सहयोग गर्ने आश्वासन दिनुभयोे ।

द्वन्द्वका बेला घाइते, अङ्गभङ्ग भएकाहरूका लागि सरकारले क्षतिको प्रकृति हेरेर राहत दिने व्यवस्था छ । पीडित विकले स्थानीय शान्ति समिति र जिल्ला प्रशासन कार्यालमा निवेदन दिएमा उपचारका लागि सिफारिस गरिदिने शान्ति समितिका संयोजक कृष्ण घिमिरेले बताउनुभयो । उहाँका अनुसार जिल्लाका धेरै यस्ता पीडितले निवेदन दिनेबारे थाहा पाएका छैनन् ।
Don't Miss
© all rights reserved
made with by netKUTI