Responsive Ad Slot

latest

कास्कीमा ३ दुर्घटना, २ को मृत्यु, ३० घाइते, नदिपुरमा तनाव, १० विद्यार्थी घाइते I

Saturday, March 31

/ by Admin BHOLA THAPA
आरजु,
पोखरा, १८ चैत । कास्की जिल्लामा आज ३ वटा दुर्घटना भएका छन् । दुर्घटनामा ३० जना घाइते भएका छन् । पोखराको नदीपुरमा बगरबाट पृथ्वीचोकतर्फ आउँदै गरेको ग १ ख १७९१ नम्बरको माइक्रोबसको ठक्करबाट रोल्पा भगाम गाविस स्थायी घर भइ हाल पोखरा फुलबारीमा बस्दै आएका १८ वर्षीय तुलबहादुर घर्तीको मृत्यु भएको छ ।


घर्तीको मृत्यु भएपछि घटनाको विरोधमा स्थानीय बासी र पृथ्वीनारायण क्याम्पसका विद्यार्थीहरुले विरोध जनाएपछि पोखराको नदीपुरमा २ घण्टासम्म तनाव भयो । भिडलाई नियन्त्रणमा लिन प्रहरीले लाठीचार्ज गर्दा १० जना विद्यार्थी तथा स्थानीयबासी घाइते भएका छन् ।

दिउसो ३ बजे बसले ठक्करबाट मृत्यु भएको शवलाई पहिचान नहुँदासम्म स्थानीयबासी र विद्यार्थीहरुले उठाउन नदिएपछि तनाव भएको हो । आक्रोशित स्थानीयबासी र विद्यार्थीहरुले ठक्कर दिने बसका पुरै शिसाहरु फुटाइदिएका छन् । ठूलो संख्यामा नेपाल प्रहरी तथा शसस्त्र प्रहरीलाई प्रयोग गरी भिडलाई नियन्त्रणमा लिएपछि शवलाई ५ बजे उठाइएको थियो । शवलाई अहिले पोष्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा राखिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । ठक्कर दिने बसचालक र बसलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरी दमनको विरोध गर्दै विद्यार्थीहरुले पृथ्वीनारायण क्याम्पस गेटमा टायर बाली प्रदर्शन समेत गरेका थिए ।
त्यसैगरी, पोखराबाट बाग्लुङ्ग तर्फ जादै गरेको ग १ ख १४७७ नम्बरको यात्रुबाहक बस आज बिहान करिब दश बजे कास्कीको लुम्ले गाबिसको सल्यान घुम्तीमा पल्टदा तिस जना यात्रु घाइते भएका छन् ।

राजमार्गमै पल्टिएको बस दुर्घटनामा घाइतेहरुको हाल पोखराका गण्डकी, फिस्टेल, मेट्रो र चरक अस्पतालमा उपचार भइरहेको छ । घाइतेहरु सबै खतरामुक्त रहेको र चालक प्रहरीको नियन्त्रणमा रहेको कास्की प्रहरीले जनाएको छ ।
यस्तै, आज दिउँसो कास्कीको हेम्जा गाबिसमा एम्बुलेन्सले मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकल चालक २६ बर्षिय सन्तोष कुँबरको मृत्यु भएको छ ।

बा ९ च ७८१ नम्बरको एम्बुलेन्सले ग ६ प ३०९९ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकलमा सवार पर्वत फलेबास घर भइ हाल पोखरा १ बगरमा मोबाइल पसल गरी बस्ने कुँबरको मृत्यु भएको हो । उपचारका लागि गण्डकी अस्पताल ल्याउँदै गर्दा, उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । एम्बुलेन्स चालकलाइ प्रहरीले नियन्त्रणमा लिएको छ ।
Don't Miss
© all rights reserved
made with by netKUTI