Responsive Ad Slot

latest

भ्रष्टाचार अभियोगमा श्रम तथा यातायात मन्त्री गिरी बर्खास्त I

Friday, March 23

/ by Admin BHOLA THAPA
कृष्ण ढुंगाना,
काठमाडौं, १० चैत/ प्रधानमन्त्री बाबुराम भट्टराईले श्रम तथा यातायात मन्त्री सरिता गिरीलाई बर्खास्त गरेका छन्। मागे बमोजिम गिरीले पदबाट राजिनामा नदिएपछि शुक्रबार कार्यालय समय सुरु हुनासाथ उनलाई बर्खास्त गरिएको हो। यसअघि बुधबार प्रधानमन्त्रीले गिरीलाई राजिनामा दिन आग्रह गरेका थिए।


आफ्नो आग्रहलाई बेवास्ता गर्दै गिरीले बचाउका लागि पत्रकार सम्मेलन गरेपछि प्रधानमन्त्री असन्तुष्ट थिए। 'आफूलाई सच्याउने भन्दा पनि उहाँ बढी प्रचारबाजी गर्नतिर लाग्नु भयो' प्रधानमन्त्री निकट स्रोतले भन्यो- 'म्यानपावर एजेन्सीसँगको मिलेमतोमा विदेश जाने गरिब नेपालीसँग पैसा असुलेको थाहा पाएपछि प्रधानमन्त्रीले राजिनामा गर्न भन्नुभएको थियो तर उहाँ मन्त्री पद जोगाउन शक्ति केन्द्र पो धाउन थाल्नु भयो।' बर्खास्त गर्न लागेको थाहा पाएकी मन्त्री गिरीले हिजो दिनभरि मन्त्री पद बचाउका लागि माओवादी अध्यक्ष पुष्पकमल दाहालसँग छलफल गर्न खोजेकी थिइन्। अध्यक्ष दाहालका स्वकिय सचिव समीर दाहालले गिरीको फोन उठाएनन्। गिरीले माओवादी अध्यक्ष भेट्न कतिसम्म प्रयास गरिन् भने साँझतिर अध्यक्ष दाहालका सुरक्षामा खटिएका एक इन्स्पेक्टरलाई समेत फोन गरी दाहालको समय मिलाइदिन आग्रह गरेकी थिइन्। भट्टराईले आफू प्रधानमन्त्री निर्वाचित हुँदा सहयोग गरेको गुन तिर्न माओवादी कोटामा रहेको श्रम मन्त्रालयमा गिरीलाई नियुक्त गरेका थिए।

रोजगारीका लागि विदेश जाने नेपालीलाई आधिकारिक अनुमति दिने निकाय वैदेशिक रोजगार विभागमा ठूलो भ्रष्टाचार भइरहेको भन्ने गुनासो आएपछि यसलाई रोक्न प्रधानमन्त्री भट्टराईले ५ महिनाअघि श्रम मन्त्रालयका सहसचिव पूर्णचन्द्र भट्टराईलाई विभागको महानिर्देशक नियुक्त गरी पठाएका थिए। भट्टराईले ठगी गर्ने म्यानपावरलाई तत्कालै कारवाही गर्ने र बैंक मार्फत् मात्र आर्थिक कारोबार गर्ने व्यवस्था सुरु गरेका थिए। व्यक्तिगत रुपमा कामदार पठाउन समेत कडाइ गरिएको थियो। विभागमार्फत् अनियमितता हुन नपाउँदा व्यवसायीहरुको खाइपाइ आएको स्रोत बन्द हुँदै गएको थियो। यही कारण म्यानपावर व्यवसायीको लबिङमा महानिर्देशक भट्टराईलाई मन्त्री गिरीले फागुन २९ गते मन्त्रालय फिर्ता बोलाइन्।

सरकारी अध्ययन अनुसार विभागमार्फत् दैनिक सरदर २० लाख रुपैयाँ भ्रष्टाचार हुनेगर्छ। विभागको गिरोह यतिसम्म बलियो हुन्छ कि घुसको भाग मन्त्री, विभाग महानिर्देशकदेखि विमानस्थल अध्यागमनसम्म पुग्ने गर्छ। श्रममन्त्री गिरी यही पैसाको प्रलोभनमा परेर थिति बसाउन बाधक बनेको गुनासो प्रधानमन्त्री समक्ष पुगेपछि उनीमाथि कारवाही गरिएको हो।

गिरीको ठाउँमा थापा
प्रधानमन्त्री भट्टराईले गिरीलाई बर्खास्त गरेसँगै राष्ट्रिय जनमुक्ति पार्टीका अध्यक्ष तथा सभासद मालबरसिंह थापालाई श्रम तथा यातायात मन्त्रीमा नियुक्त गरेका छन्। नवनियुक्त मन्त्रीको शपथ आजै हुने प्रधानमन्त्री निकट स्रोतले बतायो। नवनियुक्त मन्त्री थापा गोरेबहादुर खपाङ्गीलाई हराउँदै फागुनको अन्तिम साता पार्टीको अध्यक्षमा निर्वारित भएका व्यक्ति हुन्।

फोरमले नाम नदिँदा सञ्चार मन्त्री नियुक्तिमा ढिलाइ
मधेसी जनअधिकार फोरम गणतान्त्रिकले सञ्चारमन्त्रीका लागि नपठाउँदा सञ्चार मन्त्री नियुक्ति ढिलाइ भइरहेको छ। भ्रष्टाचार अभियोगमा जेपी गुप्ता जेलपरेपछि सञ्चारमन्त्रीको पद रिक्त छ। प्रधानमन्त्रीले आज बिहानसम्म नाम पठाउन भनेका थिए। तर फोरम गणतान्त्रिकभित्रको आन्तरिक कुरा नमिल्दा सञ्चारमन्त्री नियुक्ति ढिलाइ भइरहेको प्रधानमन्त्री निकट स्रोतले बतायो। नागरिक न्युज

Don't Miss
© all rights reserved
made with by netKUTI