काठमाण्डौं, ९ माघ / प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आजैबाट लोडसेडिङ कटौती गरिने प्रतिवद्धता जनाउनु भएकोछ । प्रधानमन्त्री भट्टराईले दिनको दुईघण्टा लोडसेडिङ कटौती हुने र त्यसको सुरुवात पनि आजैबाट गर्ने बताउनु भएको हो । सामाजिक सञ्जाल ट्विटर मार्फत केहीबेर अघि मात्रै लोडसेडिङ कटौती हुने जानकारी प्रधानमन्त्रीले गराउनु भएको हो । उहाँले यो हिउँदमा १० देखि १२ घण्टा भन्दा बढि लोडसेडिङको समय पनि नबढ्ने प्रतिवद्धता जनाउनुभएको सहयोगी विश्वदीप पाण्डेले सीआइएनलाई जानकारी दिनुभयो । हिजो मात्रै प्रधानमन्त्रीले ट्विटर मार्फत लोडसेडिङ कटौती गर्न भारतबाट विद्युत ल्याउने तयारी भइरहेको बताउनुभएको थियो ।