latest

गोल्ड कोस्ट अन्तर्राष्ट्रिय फुटसलमा नेपाली युवा टोली

Sunday, January 18

/ by Admin BHOLA THAPA

भानु खबर ।

गोल्ड कोस्ट अन्तर्राष्ट्रिय फुटसल प्रतियोगितामा सहभागी हुन नेपाली टोली शनिबार अस्ट्रेलियाको गोल्ड कोस्ट प्रस्थान गरेको छ। जनवरी १९ देखि २४ तारिखसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा नेपालबाट समृद्धि स्कुल र एन्जल्स हार्ट नेसनल स्कुलका टोलीहरूले सहभागिता जनाउँदै छन्।





प्रतियोगितामा समृद्धि स्कुलले यु–१५ उमेर समूहमा र एन्जल्स हार्ट नेसनल स्कुलले यु–१६ उमेर समूहमा प्रतिस्पर्धा गर्नेछन्। यो प्रतियोगिता नेपाली विद्यालयस्तरका खेलाडीहरूका लागि अन्तर्राष्ट्रिय अनुभव आर्जन गर्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ।

समृद्धि स्कुलको टोलीमा आरभ प्रजापति, सम्यकसिद्धि तुलाधर, परिवेश आचार्य, रमन आचार्य, प्रदेश तामाङ, मिङमार आकाश गुरुङ र समन महर्जन रहेका छन्।

यता एन्जल्स हार्ट नेसनल स्कुलको टोलीमा सम्पूर्ण थापा, अन्जल ढकाल, दिपेश जुग्जाली पुन, रितिक रिजाल र सौगात थापा क्षेत्री समावेश छन्।

एन्जल्स हार्टका खेलाडी सौगात थापा क्षेत्री तनहुँ जिल्लाको भानु नगरपालिकाबाट प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय फुटसल प्रतियोगितामा सहभागी हुन लागेका छन्। 

सानो उमेरमै अन्तर्राष्ट्रिय मञ्चमा नेपालको मात्र होइन, तनहुँ–भानु क्षेत्रको पहिचान बोकेर उत्रिन लागेका सौगातको सहभागिताले स्थानीय खेलप्रेमीहरूमा उत्साह थपिने भएको छ।

उनको सहभागिता ग्रामीण क्षेत्रबाट पनि अन्तर्राष्ट्रिय खेलकुदसम्म पुग्न सकिने सम्भावनाको सन्देशका रूपमा लिइएको छ।

एन्जल्स हार्ट नेसनल स्कुल तेस्रोपटक यो प्रतियोगितामा सहभागी हुन लागेको हो भने समृद्धि स्कुलको यो पहिलो अन्तर्राष्ट्रिय सहभागिता हो।


टोलीका अफिसियलमा दिलबहादुर बुढाथोकी, विकास शाही र सुमन तिमल्सिना रहेका छन् भने व्यवस्थापकको जिम्मेवारी दिनेश महर्जनले सम्हालेका छन्।

गोल्ड कोस्ट अन्तर्राष्ट्रिय फुटसल प्रतियोगितामा नेपाली टोलीको सहभागिताले नेपाली विद्यालयस्तरको फुटसललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने अपेक्षा गरिएको छ।


Don't Miss
© all rights reserved
made with by netKUTI