भोला थापा क्षेत्री
तनहुँ भानु ।
तनहुँ निर्वाचन क्षेत्र नं. १ मा आगामी निर्वाचनलाई लिएर राजनीतिक तापक्रम चर्किँदै गएको छ। प्रमुख दलका चर्चित र प्रभावशाली अनुहार मैदानमा उत्रिँदा यो क्षेत्र महासंग्रामको केन्द्र बन्ने संकेत देखिएको हो।
नेकपा (एमाले) बाट निवर्तमान राष्ट्रिय सभा सदस्य भगवती न्यौपाने, नेपाली कांग्रेसबाट वरिष्ठ नेता तथा पार्टी संगठनमा अनुभवी गोविन्द भट्टराई, र राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपाध्यक्ष एवम् निर्वतमान सांसद डा. स्वर्णिम वाग्ले निर्वाचनमा प्रतिस्पर्धा गर्ने आकलन गरिएको छ।
एमालेकी उम्मेदवार भगवती न्यौपाने राष्ट्रिय सभामा निर्वाचित भई संसदीय अनुभव बटुलेकी नेता हुन्। संगठनात्मक क्षमता र पार्टीभित्रको पकड उनका मुख्य बलका रूपमा हेरिएको छ। उनी एमालेको परम्परागत मताधारलाई एकताबद्ध गर्न सक्रिय देखिएकी छन्।
नेपाली कांग्रेसका गोविन्द भट्टराई लामो समयदेखि पार्टी राजनीतिमा सक्रिय रहँदै आएका अनुभवी नेता हुन्। स्थानीय तहदेखि केन्द्रसम्म राम्रो पकड बनाएका भट्टराईलाई कांग्रेसको स्थायी मताधारको प्रतिनिधि मानिन्छ।
राष्ट्रिय स्वतन्त्र पार्टीका डा. स्वर्णिम वाग्ले अर्थशास्त्री पृष्ठभूमिका नेता हुन्। उपाध्यक्ष र निर्वतमान सांसद पद सम्हालेका वाग्ले यसअघि यही क्षेत्रबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भइसकेका छन्। उनी वैकल्पिक राजनीति र सुशासनको एजेन्डा लिएर मतदातालाई आकर्षित गर्ने प्रयास गरिरहेका छन्।
तीनै दलका अनुभवी, चर्चित र प्रभावशाली उम्मेदवार मैदानमा उत्रिँदा तनहुँ–१ को निर्वाचन परिणाम अनिश्चित बनेको छ। राजनीतिक विश्लेषकहरूका अनुसार यो क्षेत्रको नतिजा उम्मेदवारको व्यक्तिगत प्रभाव, चुनावी रणनीति र मतदाता ध्रुवीकरणले निर्णायक भूमिका खेल्नेछ।
तनहुँ–१ को यो त्रिपक्षीय भिडन्त यसपटकको निर्वाचनको सबैभन्दा रोचक र चासोपूर्ण प्रतिस्पर्धा का रूपमा हेरिएको छ।
