तनहुँ खबर डटकम (बन्दना पौडेल) असोज ७ गते पालुङ बहुमुखी क्याम्पसको स्तरोन्नति तथा संकाय विस्तारको लागि पालुङमा संचालन भइरहेको श्रीमद् भागवत ज्ञान महायज्ञका क्रममा आज १ करोडभन्दा बढि रकम संकलन हुने अनुमान गरिएको छ । हिजो मात्रै ३३ लाख रुपैयाँ जम्मा भएको थियो । कथा वाचन सुरु भएको पाँचौ दिन हिजोसम्ममा ९२ लाख रुपैयाँ रकम सङ्कलन भइसकेको महायज्ञ मूल समारोह समितिको सचिवालयले जनाएको छ । बेमौसमी नगदे तरकारी खेतीका लागि प्रसिद्ध दामन पालुङमा महायज्ञको अवसर पारी क्याम्पसलाई जग्गा दान गर्नेहरुको लहरसमेत चलेको छ । क्याम्पसका लागि दामन गाविस वडा नं. ५ सिखरकोटका शंंकर कार्कीले १४ लाख ५० हजार रुपैयाँ बराबरको सडक छेउको दुई रोपनी जग्गा दान गर्नुभएको छ । त्यस्तै दामन ६ किटेनीका अक्कलबहादुर केसीले नामटारस्थित सडक छेउको ४ लाख ५० हजार बराबरको भुमिदान गर्नुभएको छ । अक्षय कोष खडा गर्ने यसै क्रममा पर्यटनका क्रममा मकवानपुरको दामन आईपुगेका कोरियाली पर्यटकहरुले महायज्ञमा कोरियन मुद्रा १ लाख ५० हजार उपलब्ध गराएका छन् ।