पाल्पा,
मंसीर ७-नेपाल मगर संघ पाल्पाको आयोजनामा नयाँ संविधान निमार्ण प्रक्रियाबारे सभासदसँगको लोकतान्त्रिक संवाद कार्यक्रम सम्पन्न भएको छ । पाल्पा क्षेत्र नं. १ को विरकोट गाविसमा भएको कार्यक्रममा बोल्दै सभासद नारायणी शर्माले सवै जातजाति, वर्ग र लिङ्ग तथा समुदायलाई सम्बोधन गर्ने खालको नयाँ संविधान बन्ने बताउनु भयो । नयाँ संविधान निमार्णको ८० प्रतिशत भन्दा बढी काम सकिएको बताउदै सभासद शर्माले नयाँ संविधान बन्नेमा कुनै शंका नलिन आग्रह समेत गर्नु भयो । कार्यक्रमका मुल पाहुना समेत रहनु भएका सभासद शर्माले समयमै शान्ति प्रक्रिया र नयाँ संविधान निमार्णको विकल्प नभएको पनि उल्लेख गर्नु भयो ।
नेपाल मगर संघ पाल्पाका अध्यक्ष बल बहादुर गाहाको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ पाल्पाका अध्यष गम बहादुर थापा, नेपाल मगर विद्यार्थी संघ पाल्पाका अध्यक्ष धनी सारु, विष्णु पल्ली, पे्रम बगाले र तिर्थ सारु लगायतले बोल्नु भएको संघका सचिव असविर सारुले बताउनु भयो । कार्यक्रम हरियाली ग्रामिण आर्थिक विकास नेपाल विरकोटको व्यवस्थापनमा भएको हो । सचिव सारुमगरका अनुसार नेपाल मगर संघ पाल्पाको आयोजना यस्तै कार्यक्रम पाल्पाको क्षेत्र नं. २ र ३ मा पनि हुनेछ ।