Responsive Ad Slot

latest

साउदी जान हिंडेका नेपाली महिला मुम्वईको जेलमा -९ जनाको उद्दार

Monday, November 28

/ by Admin BHOLA THAPA
कल्पना घिमिरे
काठमाडौ, मंसिर १२ - उनीहरुलाई लागेको थियो साउदी अरब पुग्ने वित्तिकै काम पाइन्छ । सोचेजस्तो भएन । भारतको मुम्बईबाट साउदी उडेका उनीहरु एयरपोर्टमै पक्राउ परे । काम गर्ने र परिवारको आर्थिक अवस्था उकास्ने इलाम महमाइकी २० वर्षीया सीताकुमारी राई (नाम परिवर्तन)को सपना मुम्बइको जेलमा बन्दी भयो । एक वर्ष अघि झापाको काकटभिट्टा हुँदै भारत छिरेकी राई विना कागजात मुम्वइसम्म पुगेकी थिइन् ।

चित्र शेर्पा भन्ने दमक झापाका एक जना दलालले उनलाई विनाकागजात साउदी उडाउने आस्वासन दिएका थिए । उनी उडिन् पनि । तर साउदी एयरपोर्टले कागजात नक्कली फेला पार्‍यो र उनलाई पुन: मुम्बइ फर्कादियो ।

उनीसँगै अन्य दुई पनि थिए । तीनै जनालाई मुम्बइ जेलमा राखियो । 'जेल पुगुन्जेल हामीलाई नक्कली कागजात बारे जानकारी थिएन,' उनले भनिन् ‍, 'पढ्‍न जानेको छैन । अर्कैको पासपोर्टमा मेरो फोटो टासेर पठाइदिएछन् । मैले मेरै भन्ठाने ।'

सानै छँदा बाबु बितेपछि घरमा भएकी आमालाई राम्रो पाल्न पैसा कमाउन आफु विदेश जानु परेको उनी बताउँछिन् ‍, 'आमालाई चिन्ता होला भनेर जेल परेको समेत थाहा दिएको छैन ।' साउदीमा बच्चा हेर्ने कामका लागि महिनाको आठ हजार दिने सर्तमा उनी बिदेश गएकी हुन् । तर काम गर्ने ठाउँमा नपुग्दै बाटैबाट जेल जानु पर्‍यो । सुनस खनारकी ४५ वर्षीय सानी राजवंशी घरमा छोरा बुहारीलाई नभनकिनै विदेश गएको बताउँछिन् ।

तीन महिना अघि साउदी अरवका लागि हिडेकी राजबंशी मुम्मइबाट अघि बढ्‍न सकिनन् । उनको पासपोर्ट र आवश्यक कागजात केही नभएकाले उनी मुम्मइबाटै समातिएकी हुन् । 'घरको काम गर्न भन्दै छिमेकी भाइले एक रुपैयाँ पनि नलिकन कागजात बनाइदिए' उनले भनिन् ‍, 'त्यसपछि छोरा बुहारीलाई नभनिकन पैसा कमाउन घरबाट भागें ।'

अब घर गएर छोराबुहारीलाई के भन्ने भनेर चिन्ता लागिरहेको उनले बताइन् । माइती भारतसंग सहकार्य गरी उनीहरु जस्तै बिनाकसुर मुम्मइमा जेल परेका नौ महिलालाई माइती नेपालले उद्दार गरेको छ ।

उनीहरुलाई माइती भारतले तीन दिन अघि भैरहवास्थित माइती नेपाललाई जिम्मा लगाएको हो । झापा, मोरङ, सुनस, इलाम, गोरखालगायत जिल्लाबाट बिभिन्न कामका लागि मुम्मइ पुगेका यी महिलाको पार्सपोर्ट लगायत अन्य कागजात नक्कली भएको माइती नेपालका सूचना अधिकृत अच्युत नेपालले बताए ।

'उनीहरुको सबै कागजपत्र साउदी एयरपोर्टमै जफत गरिएको रहेछ,' उनले ईकान्तिपुसित भने, 'अरुकै नामको पासपोर्टमा फोटो उनीहरुको टाँसेको रहेछ ।' साधारण लेखपढ समेत नगरेका यी महिला आफ्‍नो नामसमेत पढ्‍न नजानेकै कारण अफ्‍ठेरोमा परेको उनले जानकारी दिए । उनका अनुसार नेपाली गिरोह नै भारतमा बसेर कागजात मिलाइदिने काम गरिरहहेको हुनसक्छ । ती एजेन्टहरुलाई समात्न भारतीय प्रहको सहयोगमा त्यहाँका बिभिन्न संघसंस्थाहरु सक्रिय गराइएको छ ।समाचार साभार: ईकान्तिपुर डट कम
Don't Miss
© all rights reserved
made with by netKUTI