काठमान्डौ
माघ ५ गते ।
सरकारले पेट्रोलियम पदार्थमा व्यापक मूल्य बढाएको विरोधमा विभिन्न १३ विद्यार्थी सङ्गठनहरूले भोलिदेखि सडक आन्दोलन गर्ने घोषणा गरेका छन् । विद्यार्थी सङ्गठनको प्रतिनिधिहरूको आज बिहान राजधानीमा बसेको आकस्मिक बैठकले आन्दोलनको कार्यक्रमसमेत सार्वजनिक गरेको छ । बैठकले आन्दोलनको खाका समेत तय गरेको छ ।
विद्यार्थी सङ्गठनहरूले मूल्यवृद्धि फिर्ताका लागि २४ घन्टा, भोलि बिहान १० बजेसम्मको अल्टिमेटम दिएका छन् । भोलिदेखि चरणवद्ध आन्दोलन गर्ने र १० गतेसम्म पनि सरकारले बढाइएको मूल्यवृद्धि फिर्ता नलिए ११ गते काठमाडौं उपत्यका बन्द गरिने कार्यक्रम विद्यार्थीहरूले घोषणा गरेका छन् । उनीहरूले एकीकृत माओवादीको भ्रातृ संस्था अखिल क्रान्तिकारी अध्यक्ष हिमाल शर्माले जनताको ढाड सेक्ने गरी बढाइएको मूल्य वृद्धिको विरोधमा आन्दोलनमा उत्रनुको विकल्प नभएको बताउनुभयो ।
घाटामा गएको भन्दै मूल्य वृद्धि गरिए पनि आयल निगमभित्र हुने भ्रस्टाचार र अनियमितता रोक्न सके जनताको दैनिक जीवनमा प्रत्यक्ष मार पर्ने गरी मूल्य बढाउनै नपर्ने विद्यार्थी नेताहरूको भनाइ छ ।
यसैबीच पेट्रोलियम पदार्थमा मूल्य वृद्धि गरिएपछि विभिन्न जिल्लाहरूमा विरोधका कार्यक्रमहरू भइरहेका छन् । सरकारले हिजो ग्यासमा प्रतिसिलिन्डर एक सय ७५, पेट्रोल प्रति लिटर १०, डिजेल र मट्टीतेलमा प्रतिलिटर ९÷९ रुपैयाँ बढाउने निर्णय गरेको थियो ।