सिन्धुली माघ १० गते ।
एनेकपा माओवादीका सचिव सीपी गजुरेलले थप गरिएको समयमा संविधान बन्न नसक्ने बताएका छन् । अन्य दलले चाहे जस्तो संविधान माओवादीलाई मान्य नहुने र माओवादीले चाहेको जनसंविधान अरूले नमान्ने हुनाले संविधान बन्न नसक्ने सचिव गजुरेलको ठहर छ ।
कमलामाई नगरपालिका ९ को मल्लागाउँमा मंगलबार आयोजना गरिएको जनतासँग सभासद संवाद कार्यक्रममा सचिव गजुरेलले नेपाली कांग्रेस र एमालले भने जस्तो संविधान माओवादीलाई मान्य नहुने बताए । माओवादीले अगाडि सारेको जनसंविधान निर्माण गर्न सबै सहमत भएमा भने संविधान बन्ने उनको तर्क थियो ।
अन्य दलले भने जस्तो संसदिय व्यवस्था नै मान्ने भए जनयुद्धको कुनै अर्थ नरहने हुनाले जनसंविधान घोषणा हुनुपर्ने सचिव गजुरेलले खाँचो रहेको बताए । युद्ध लडेर आएको पार्टीसँग संझौता गरे अनुसार उपलव्धिको रक्षा हुन नसकेकाले त्यसको क्षतीपूर्ति स्वरुप जनसंविधान बन्नुपर्ने उनको धारणा थियो ।
संविधानसभाबाट संविधान नबने जनविद्रोह गरेर संविधान बनाइ छाड्ने उनले चेतावनी दिए । माओवादीले जनविद्रोहको तयारी समेत शान्ति र संविधानसँगसँगै गर्दा कांग्रेस र एमालेले जनसंविधानमा सहमति गर्न सक्ने उनले अनुमान लगाए । आफ्नै पार्टीका नेतृत्वले रुखका दुइवटा चराहरू समाउने नाममा हातमा भएको एउटा चरा समेत उम्काएको उनको भनाइ थियो ।
