रामेश्वर कार्की,
धादिङ, १८ चैत । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको जोगिमारा-२ स्थित हुग्दिखोलाको पुलमा शुक्रबार राति १० बजेतिर यात्रुबहाक बस पल्टिदा १ जनाको घटनास्थलमै मृत्यु भएको छ। बसमा सवार ३१ जना यात्रु घाइते भएका छन्।
घाइतेमध्ये गम्भीर घाइते १३ जनालाई थप उपचारका निम्ति काठमाडौं पठाइएको छ। अन्य १८ जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।
काठमाडौंबाट उदयपुरतर्फ जाँदै गरेको ना३ख ७९०९ नम्बरको रात्रिबस तिब्र गतिका कारण पुलमा ठोक्किएर सडकमै पल्टिएको इलाका प्रहरी कार्यालय गजुरीका प्रमुख प्रहरी निरीक्षक विनोद घिमिरेले जानकारी दिए।
दुर्घटना पश्चात बसका चालक कृष्ण भट्टराई फरार छन्। दुर्घटनामा परी मृत्यु भएकी महिलाको सनाखत हुन सकेको छैन। सडकै पल्टिएका कारण राति दुई घण्टासम्म सडक अवरुद्ध भएको थियो। हाल राजमार्गको सवारी आवागमन सामान्य छ।