ताप्लेजुङ, १७ चैत । खाद्यान्नबाली मकै लगाउने समय बित्न लाग्दासमेत पानी नपर्दा खेती लगाउन नपाएपछि ताप्लेजुङ लगायत पूर्वी पहाडी जिल्लाका किसान चिन्तित भएका छन् ।
मौसम अनुसारको खेती लगाउने र सोही खेतीमा निर्भर हुने गरेका यहाँका कृषक समयमै मौसमीबाली मकै खेती लगाउन नपाएकाले चाँडै खाद्यान्न सङ्कट फैलनसक्ने भन्दै बढी चिन्तित बनेका हुन् । जिल्लामा समुद्री सतहको सात सय मिटरको उचाइदेखि चारहजार मिटरको उचाइसम्म मकैखेती हुने गरेकामा एक हजार दुई सय मिटरसम्मको क्षेत्रमा भने मकैबाली लगाउन ढिलो भएको जिल्ला कृषि विकास कार्यालय ताप्लेजुङले जनाएको छ ।
मौसमअनुसार अन्नबाली लगाउन नपाउनाका साथै लामो समयसम्म खडेरी लाग्दा माटो रुखासुक्खा हुने भएकाले यस्तो समयमा बाली लगाए पनि राम्रो फस्टाउन नसक्ने कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत मोतीलाल यादवले बताउनुभयो । ‘यहाँका किसानले मौसमअनुसारको खेती लगाउने भएकाले अहिले मकै लगाउन ढिलो हुँदा पछि धानखेती लगाउनसमेत ढिलो हुन्छ’–अधिकृत यादव भन्नुहुन्छ ।
जिल्लाको १६ हजार एक सय ८७ हेक्टर क्षेत्रफलमा मकैखेती गरिँदै आएको छ । यहाँका किसानले देउती, शीतला, मनकामना चार, गणेश दुई आदि जातको मकैबाली लगाइने गरेको पनि कृषि विकास कार्यालयले जनाएको छ ।
यता पानी नपरेपछि अहिले किसानले बर्खे (चैतै) धानको ब्याड राख्न पाएका छैनन् । सुन्तला, आरुबखडा, आँपलगायतका फलफूलको फूल खेल्ने तथा फल लाग्ने बेला भएकाले यसलाई समेत असर पु¥याएको कार्यालयले जनाएको छ ।