तनहुँ- धर्म, संस्कृति र खेलकुदको त्रिवेणी संगमका रूपमा तेस्रो चन्द्रावती फुटबल कप तथा महाशिवरात्री मेला–२०८२ भानु नगरपालिका–१३ स्थित चन्द्रावती खेलमैदान, तनहुँमा आयोजना हुने भएको छ।
श्री चन्द्रावती युवा क्लबको आयोजनामा हुने उक्त कार्यक्रम २०८२ माघ २५ गतेदेखि फागुन ०४ गतेसम्म सञ्चालन हुनेछ।
कार्यक्रम अन्तर्गत अन्तर क्लब खुला पुरुष फुटबल प्रतियोगिता आयोजना गरिनेछ, जसमा विभिन्न क्लबहरूको सहभागिता रहने अपेक्षा गरिएको छ। प्रतियोगिताको विजेताले कप, मेडल र प्रमाणपत्रसहित नगद १ लाख ११ हजार १११ रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले कप, मेडल, प्रमाणपत्रसहित नगद ५५ हजार ५५५ रुपैयाँ प्राप्त गर्नेछ।
प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट प्रशिक्षक तथा प्रत्येक खेलका उत्कृष्ट खेलाडीलाई विशेष पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।
फुटबल प्रतियोगितासँगै महाशिवरात्रीको अवसरमा विशेष धार्मिक तथा सांस्कृतिक कार्यक्रम समेत आयोजना गरिनेछ। मेलामा स्थानीय कलाकारहरूको सांगीतिक प्रस्तुति, व्यापारिक स्टल, मनोरञ्जनात्मक मेला तथा डोरी तान्ने, घैटो फुटाउने, खुला दौडलगायत विविध प्रतियोगिताहरू समावेश गरिनेछ।
टिम दर्ताको अन्तिम मिति २०८२ माघ २५ गतेसम्म तोकिएको छ भने टिम दर्ता शुल्क ५ हजार रुपैयाँ निर्धारण गरिएको छ।
खेलकुद, संस्कृति र धार्मिक आस्थाको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको यस कार्यक्रम सफल बनाउन आयोजकले सम्पूर्ण खेलप्रेमी, दर्शक तथा स्थानीयवासीहरूलाई कार्यक्रममा सहभागी भइ कार्यक्रमको शोभा बढाइदिन आग्रह गरेको छ।
