राजनीतिक संकट समाधानका लागि मधेसी दलहरूलाई पहल गर्न कोइरालाले आग्रह गरेका थिए। महतोले कांग्रेस-एमालेले माग्दै आएको प्रधानमन्त्रीको राजीनामाले संकट समाधान नहुने बताउँदै वैकल्पिक उपाय खोज्नुपर्ने बताएका थिए। 'सरकार कामचलाउ भइसकेको अवस्थामा प्रधानमन्त्रीको राजीनामा माग्दै कांग्रेस-एमालेले आन्दोलन गर्न मिल्दैन,' महतोले संवाददाताहरूसँग भने, 'नयाँ सहमतिका लागि पहल गर्न कांग्रेस सभापतिलाई आग्रह गरेको छु।'
वर्तमान संकट समाधानका लागि कांग्रेसले अग्रसरता लिने केन्द्रीय समितिले निर्णय गरेपछि दलहरूसँग कोइरालाले छलफल सुरु गरेका हुन्। बिहीबार उनले तराई मधेस लोकतान्त्रीक पार्टीका अध्यक्ष महन्त ठाकुरसँग भेट गरेका थिए। यसअघि कांग्रेसकै पहलमा संविधानसभा विघटनपछि पहिलोपटक कांग्रेस, एमाले, माओवादी र मधेसी मोर्चाको बैठक बसेको थियो।