तनहुँ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) तनहुँको ९औँ जिल्ला अधिवेशन आज दमौलीमा सुरु हुँदैछ। पार्टीलाई सुदृढ बनाउने र आगामी राजनीतिक रणनीति तय गर्ने उद्देश्यसहित आयोजित यस अधिवेशनमा अध्यक्ष पदका लागि ६ जनाले प्रतिस्पर्धा गर्ने तयारी गरेका छन्।
अधिवेशन उद्योग वाणिज्य संघ दमौलीको सभाहलमा बिहान ११:३० बजे सुरु हुनेछ। पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देन प्रमुख अतिथिका रूपमा उपस्थित हुनेछन्। वर्तमान जिल्ला अध्यक्ष विनोद घर्तीले भने, “केन्द्रीय नेतृत्वको उपस्थितिले अधिवेशनको महत्व बढाएको छ।”
अध्यक्ष पदका उम्मेदवारहरूमा विनोद घर्ती, इम बहादुर केसी, पृथ्वी नारायण श्रेष्ठ, सिता थापा, हितमान कायस्थ र ध्रुवराज सुवेदी रहेका छन्। सहमतिका आधारमा नेतृत्व चयन गर्ने प्रयास भए पनि यदि सहमति नजुटे भने दिउँसो २ बजे मतदान हुनेछ।
विश्लेषकहरूले संगठन विस्तार र कार्यकर्ता सक्रियतामा सक्रिय भूमिका खेलेका विनोद घर्तीको दोहोरिने सम्भावना बलियो भएको बताएका छन्। अधिवेशनले केवल नेतृत्व चयनमा नभई तनहुँमा राप्रपाको भविष्यको कार्यदिशा, संगठनात्मक मजबुती र राजनीतिक प्रभाव तय गर्ने विश्वास गरिएको छ।
