दमौली ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेस तनहुँले पार्टीलाई अझ सशक्त र एकताबद्ध बनाएर निर्वाचनमा होमिनुपर्नेमा जोड दिएको छ।
सभापति आलेले भने, निर्वाचन जित्न संगठन बलियो हुनुपर्छ, संगठन बलियो बनाउन एकता अनिवार्य छ।
अब आपसी आरोप–प्रत्यारोपमा समय खेर फाल्ने बेला होइन, कांग्रेसको जित सुनिश्चित गर्न हामी सबै एउटै लक्ष्य लिएर अघि बढ्नुपर्छ।
त्यसैगरी, निवर्तमान जिल्ला सभापति बैकुण्ठ न्यौपानेले पार्टीको आन्तरिक संरचना र वर्तमान राजनीतिक परिस्थितिमा आएको परिवर्तनलाई ध्यानमा राख्दै एकताबद्ध भएर अघि बढ्नुको विकल्प नरहेको धारणा राखे।
उनले पार्टीभित्र देखिएका असन्तुष्टिलाई संवादमार्फत समाधान गर्दै निर्वाचनमा जित हात पार्न सक्ने उम्मेदवारलाई अगाडि सार्नुपर्नेमा विशेष जोड दिए।
बैठकमा उपसभापति देवकुमार श्रेष्ठले निर्वाचनलाई लक्षित गर्दै वडास्तरदेखि प्रदेशसम्म संगठनात्मक सुदृढीकरण आवश्यक रहेको बताए। उनले पार्टीको सांगठनिक संरचनालाई सक्रिय बनाउँदै कार्यकर्तालाई जिम्मेवारीसहित परिचालन गर्नुपर्ने धारणा राखे।
त्यस्तै, जिल्ला सहसचिव मिलन आलेले निर्वाचन अभियानलाई व्यवस्थित र प्रभावकारी बनाउन समयमै तयारी थाल्नुपर्ने बताउँदै प्रचार–प्रसार, मतदाता सम्पर्क अभियान तथा सामाजिक सञ्जालको प्रभावकारी प्रयोगमा जोड दिए।
जिल्ला सदस्य डम्बर अधिकारीले कांग्रेसको इतिहास, सिद्धान्त र मूल्यलाई जनतामाझ पुनः स्थापित गर्न सकिए निर्वाचनमा सकारात्मक परिणाम आउने विश्वास व्यक्त गरे। उनले आम मतदातासँग प्रत्यक्ष संवाद र घरदैलो अभियानलाई प्राथमिकतामा राख्नुपर्ने बताए।
बैठकमा उम्मेदवार दर्ता प्रक्रिया, निर्वाचन परिचालन समिति गठन, प्रचार–प्रसारको ढाँचा, आर्थिक व्यवस्थापन तथा स्वयंसेवक परिचालन लगायत विषयमा समेत विस्तृत छलफल गरिएको थियो।
साथै, निर्वाचनलाई व्यवस्थित, अनुशासित र प्रभावकारी ढंगले सञ्चालन गर्न विभिन्न जिम्मेवारीहरू नेता तथा कार्यकर्ताबीच बाँडफाँड गरिएको नेपाली कांग्रेस तनहुँले जनाएको छ।
पार्टीले आगामी दिनमा स्थानीय तह, क्षेत्रीय र प्रदेशस्तरमा समेत यस्ता बैठक तथा अन्तरक्रियाहरूलाई निरन्तरता दिँदै संगठनलाई थप सुदृढ बनाउने निर्णयसमेत गरेको छ।

