रवि रोषी
दोहा पुस २५ गते ।
इलाम शान्तिडाँडाका कृष्ण कुमार कटुवाल र अर्का कृष्ण उपाध्याय गतहप्ता कतारको ग्रीन हाउस फार्ममा काम गर्न भनी कतार पठाईएको थियो । कतारको ग्रीन हाउस फार्ममा काम गर्ने भनी उनीहरुलाई कतार पठाएको भए पनि कतार स्थित ग्रुप टेन मेनपावर कम्पनीले उनीहरुलाई साउदी अरब पुर्याएको छ । २२५८७५६ नम्बर राहदानी बाहक कृष्ण कुमार कटुवाल र ४८६७८५० नम्बरका राहदानी बाहक अर्का कृष्ण उपाध्यायले बुटवलका नवराज सिंह भन्ने एजेन्टलाई जनही ७० हजार बुझाएर कतार आएका थिए । एजेन्ट सिंहले मासिक १००० रियाल तलव हुने भनी कतार स्थित ग्रुप टेन मेनपावरमा पठाए पनि उनलाई कतारमा आएको केहि दिनमा नै साउदी लिएर गएको पिडित द्धयले नेपालमा आफ्नो आफन्तजनलाई फोन मार्फत जानकारी दिएका थिए । हाल उनीहरु साउदीअरबको शहर देखि धेरै टाढा मरुभूमिको बीचमा उँट चराउने, उँटलाई चारा दिने र त्यहाँ रहने अन्य देशका कामदारहरुको भाँडा माझ्दै कष्टकर जीवन भोग्दै आएका छन् । उनलाई कतार आउनको लागि भिसा निकालिदिने नवराज सिंहलाई सम्पर्क गर्न खोज्दा सिंह सम्पर्क विहीन भएकोले कतारमा अवस्थित ग्रुप टेन कम्पनीमा सम्पर्क गरी नेपाल झिकाउन परराष्ट्र मन्त्रालयमा याचनापत्र जाहेर गरेका छन् । २०६८।०६।०८ को मितीमा पराराष्ट्र मन्त्रालयमा उनको आफन्तले दिएको निवेदनमा पिडित द्धयलाई उद्धार गरी पाउँ भनी दिएको निवेदनमा उल्लेख गरिएको छ ।