Responsive Ad Slot

latest

नेपाल बाट प्राप्त २:३० का १७ ताजा खबरहरु एउटै थलोमा I

Monday, January 9

/ by Admin BHOLA THAPA

फ्रिक्वेन्सी वितरणमा अनियमितता भएको लेखाको ठहर ।।
व्यवस्थापिका संसदको सार्वजानिक लेखा समितिले विभिन्न टेलिकम प्रदायक कम्पनीलाई फ्रिक्वेन्सी वितरणका क्रममा अनियमितता भएको ठहर गरेको छ । सभासद् डा प्रकाशचन्द्र लोहनी संयोजकत्वको उपसमितिले दिएको प्रतिवेदन सर्वसम्मतिबाट पारित गर्दै लेखाले फ्रिक्वेन्सी सम्बन्धमा थप छानविन गर्न अख्तियारलाई पठाएको छ । लेखा समितिले अप्टिकल फाइबर लगायत आवश्यक नीति बनाई लागू गर्न मन्त्रीपरिषद, सूचना तथा संचार मन्त्रालय, राष्ट्रिय योजना आयोग, अख्तियार र महालेखा परीक्षक कार्यालयलगायतलाई लेखी पठाउने निर्णय गरेको सभापति रामकृष्ण यादवले जानकारी दिनुभयो । प्रतिवेदन तयार हुने जानकारी हुँदाहँुदै तथा संचारमन्त्री र संचार सचिवलाई प्रतिवेदन अध्ययनपछि निर्णय गर्दा अनुरोध गर्दा पनि अहिले अस्थायी फ्रिक्वेन्सीलाई स्थायी गर्ने कामले सरकारी राजस्वमा ठूलो नोक्सानको साथै वितरण प्रक्रियामा लापरवाही भएको समितिको प्रतिवेदनमा उल्लेख गरिएको छ । उपसमितिले एक वर्ष लामो छानविनपछि कौडीको भाउमा फ्रिक्वेन्सी वितरण गरेर अबांै राजश्व छली गरेको निस्कर्ष निकालेको ठहर गरेको छ । समितिले अध्ययन अवधिभर नेपाल सरकार र दूर संचार प्राधिकरणबाट प्रतिवेदनमा उल्लिखित नियम विपरितका निर्णय बदर गर्न निर्देशन दिएको छ ।



मनविरे सुनारको हत्या छुवाछूतकै कारण भएको दलित नेताहरुको निष्कर्ष ।।

दलित समुदायका अगुवा सभासद् र नेताहरूले व्यवस्थापिका संसदवाट छुवाछूत ऐन पारित भएको लामो समय बितिसक्दा पनि जातीय छुवाछूतको नाममा दुव्र्यबहार कायम रहेको भन्दै सरकारको आलोचना गरेका छन् । व्यवस्थापिका संसदको महिला बालबालिका तथा समाजकल्याण समितिमा विभिन्न दलका नेता÷सभासद्हरुले दलितमाथि भएका आक्रमणलाई मदिरा पिएकोसँग तुलना गरेर घटनाको अवमूल्यन गरिएको बताएका हुन् । उनीहरुले छुवाछूतका घटनामा संलग्नलाई कार्वाही गर्न प्रशासन सक्रिय नभएको आरोप लगाए । एकीकृत माओवादीका तिलक परियार, नेपाली काङ्गे्रसका खड्गबहादुर बस्याल सार्की, एमालेका पुरनसिंह दयाललगायतले कालिकोटमा मनविरे सुनार, दैलेखका सेते दमाइ र तनहुँको घाँसी कुवामा पानी थाप्ने क्रममा दलितमाथि मरणासन्न हुने गरी भएको आक्रमणका दोषीलाई कारवाही गर्न माग पनि गरेका छन् ।




साना दलसँगको काङ्ग्रेस एमाले बैठक जारी ।।
संविधान लेखन र शान्ति प्रक्रियाका विषयमा साझा धारणा बनाउने उद्देश्यले नेपाली काङ्ग्रेस र नेकपा एमालेसहित साना दलहरूको बैठक अहिले बसिरहेको छ । यसअघि पटकपटक भएका सहमतिहरू कार्यान्वयनमा सत्ताको नेतृत्व गरिरहेको दल एकीकृत माओवादी तयार नभएको निष्कर्ष निकालेका दुई मुख्य प्रतिपक्षी दलले दबाबका लागि आवश्यक रणनीति तयार गर्ने उद्देश्यले हिजोदेखि साना दलसँगको छलफललाई अघि बढाएका हुन् । बैठक सिंहदरबारमा रहेको संसद सचिवालय बसिरहेको छ । कात्तिक १५ मा भएको ७ बुँदे, मङ्सिर १३ मा भएको ६ बुँदे सहमति कार्यान्वयन गर्न माओवादीले आलटाल गरिरहेको प्रतिपक्षी दलहरूको आरोप छ ।



नेपालगन्जमा माघ २७ गतेदेखि फागुन ९ गते सम्म औद्योगिक व्यापार मेला हुने ।।
कोहलपुर,
नेपालगञ्ज उद्योग वाणिज्य सङ्घले आगामी माघ २७ गतेदेखि फागुन ९ गतेसम्म नेपालगञ्जमा औद्योगिक व्यापार मेला गर्ने भएको छ । तीन वर्षपछि सङ्घले मध्यपश्चिमाञ्चल औद्योगिक व्यापार मेला तथा बाँके पर्यटन महोत्सव २०६८ गर्न लागेको जनाएको छ । आज नेपालगञ्जमा पत्रकार सम्मेलन गरि उद्योग वाणिज्य सङ्घले यो जानकारी दिएको हो । कारकाँदोस्थित सडक विभागको परिसरमा हुने मेलामा नेपाल, भारत, पाकिस्तान र चिनका जडिबुटी कृषिलगायतका करिब २ सयभन्दा बढि स्टल रहने जनाएको छ । राष्ट्रिय उद्योग व्यवसायको प्रवद्र्धन गर्दै राष्ट्रिय अर्थतन्त्रको विकासमा टेवा पु¥याउन महोत्सव गर्न लागिएको सङ्घका महासचिव एवम् महोत्सव मूल समितिका सदस्यसचिव श्यामकुमार शर्माले जानकारी दिनुभयो ।


नेपथ्यको नेपालगञ्जमा आज पहिलो पटक अन्तराष्ट्रियस्तरको सांस्कृतिक कार्यक्रम हुँदै
कोहलपुर,
बाँकेको नेपालगञ्जमा आज पहिलो पटक अन्तराष्ट्रियस्तरको प्रत्यक्ष सांस्कृतिक कार्यक्रम हँदैछ । अन्तराल र दिपज्योति विद्याश्रमको संयुक्त आयोजनामा नेपथ्य व्याण्डले साँस्कृतिक कार्यक्रम गर्न लागेको हो । स्थानिय वागेश्वरी चलचित्र मन्दिरमा आज दिउँसो ३ बजेदेखि सुरु हुने सांगीतिक कार्यक्रम कन्सर्टका लागि नेपथ्य व्याण्डका चर्चित गायक अमृत गुरुङसहित ५० जनाको टिम हिजै नेपालगंज आईपुग्नुभएको अन्तरालका संयोजक जयनारायण शाहले बताउनुभयो । शान्तिका लागि शिक्षा सन्देश बोकेको सांस्कृतिक कार्यक्रमको सम्पूर्ण तयारी भइसकेको छ ।



हिमपात कारण दैलेखकोे जनजीवन कष्टकर ।।
दैलेख
हिमपात र अत्याधिक चिसोसँगै दैलेखको जनजीवन कष्टकर बनेको छ । उच्च लेकाली भेगहरुमा हिमपात परेपछि चिसो बढेको हो । दैलेखको लेकाली भेगहरुमा धेरै हिमपात भएको छ । एक सातादेखि चलेको शीतलहर, बाक्लो हुस्सुको कारण जाडो बढेपछि यहाँको जनजीवन प्रभावित बनेको हो । हिजोअस्ति बादल लागेको बेला पनि घाम देखिएको भएपनि आजभने राति देखि नै वर्षा भइरहेको हुँदा जनजीवन झन कष्टकर बनेको छ । वर्षात्सँगै चिसोबाट बालबालिका तथा
वृद्धवृद्धाहरु धेरै मर्कामा परेका छन् । दैलेखमा अरू दिनको तुलनामा आज भने मानिसहरुको चहलपहल घटेको छ । त्यस्तै चिसो बढेपछि सदरमुकाम बासि सडकमा आगो तापेर बसि रहेका छन् । वर्षातले लगाइएको हिउदे बालीलाई फाइदा पुग्ने किसानहरुको भनाइ छ ।



आँखा शिविर सन्चालन ।।
कैलाली
लायन्स क्लब अफ टीकापुर र गेटा आँखा अस्पताल कैलालीको आयोजनामा कैलालीको टीकापुरमा ५ दिने निःशुल्क आँखा शिविर सुरु भएको छ । विशेषतः मोतियाबिन्दुका आँखा पीडित रोगीलाई लक्षित गरी शिविर आयोजना गरिएको लायन्स क्लब टीकापुरका आँखा शिविर संयोजक नारायण न्यौपानेले बताउनुभयो । टीकापुर आँखा अस्पतालमा सञ्चालन भइरहेको शिविरमा कैलाली बर्दियाको पश्चिमी गाविस र भारतीय सिमाक्षेत्रबाट समेत आँखाका रोगीहरु आउने गरेका
छन् । शिविरमा मोतियाबिन्दुसहित आँखासम्बन्धी ओपीडी उपचार गरिने गेटा आँखा अस्पतालका डाक्टर सुरेशराज पन्तले बताउनुभयो ।



सुरक्षा निकाय तथा जिल्ला वन कार्यालय रौतहटद्वारा गस्ति सुरु ।।
रौतहट
रौतहटको राष्ट्रिय जंगलबाट हुने गरेको चोरी तस्करी रोक्नेतर्फ सुरक्षा निकाय तथा जिल्ला वन कार्यालयले गस्ति सुरु गरेको छ । रौतहटको राष्ट्रिय जंगल अन्तर्गत रंगपुर साझेदारी वन उपभोक्ता समिति अन्तर्गतको जंगलबाट काठ दाउरा तथा रुख कटानी हुने क्रम नरोकिएपछि सुरक्षा
निकायको सहयोगमा गस्ति परिचालन गरिएको जिल्ला वन कार्यालय रौतहटले जनाएको छ । सन्तपुरस्थित सशस्त्र वेसक्याम्प तथा इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर तथा इलाका प्रहरी कार्यालय कटहरियाको सक्रियतामा रौतहटको बढी मात्रामा चोरी कटानी हुने क्षेत्रमा सतर्कता अपनाइएको जिल्ला वन अधिकृत नन्दलाल यादवले जानकारी दिनुभएको छ । रौतहटको
रङ्गपुर, बलेरी, जुडिबेला, सिम्री रेन्जपोष्ट हानी नोक्सानी हुने क्षेत्र भएकाले ती रेन्जपोष्टमा विशेष सतर्कता अपनाइएको अधिकृत यादवले जानकारी दिनुभएको छ । उहाँका अनुसार अतिक्रमण गरि घर बनाइएको क्षेत्र तथा चुरे क्षेत्रमा भएको अतिक्रमण हटाउन जिल्ला वन कार्यालयले छलफल समेत गर्न सुरु गरेको छ ।



सोलार प्यानल प्रयोग गर्ने उपभोक्ताहरुको सङ्ख्यामा वृद्धि ।।
रौतहट
नेपाल विद्युत् प्राधिकरणले विद्युत आपूर्तिमा कटौती गरेपछि रौतहटको ग्रामिण क्षेत्रमा मात्र नभर्ई सहरी क्षेत्रमा समेत सोलार प्यानल प्रयोग गर्ने उपभोक्ताहरुको सङख्या बढेको छ । बिजुली आउने र जाने ठेगान नभएपछि विद्युत्को वैकल्पिक स्रोतको रूपमा सौर्य ऊर्जातर्फ सर्वसाधारणको आकर्षण बढेको हो । एकपटक खरिद गरी जडान गरेपछि अन्य कुनै खर्च नलाग्ने र आफूलाई चाहिएको समयमा तत्काल बाल्न सकिने भएकाले दैनिक १५ घण्टाको लोडसेडिङ भोग्नुपर्ने बाध्य भएकाले सौर्य प्यानल खरिद गर्नुपरेको स्थानिय रंगपुर गाविसका कृष्ण खड्काले जानकारी दिनुभएको छ । सौर्य ऊर्जा प्रारम्भिक समयमा खरिद गर्दा केही महङ्गो भएपनि सेवा भने गणस्तरीय र भरपर्दो भएको उपभोक्ताहरुले बताएका छन् । आठ हजारदेखि १८ हजार रुपियाँसम्म पर्ने विभिन्न क्षमताका सोलार प्यानलबाट न्यूनतम तीनदेखि अधिकतम १० वटासम्म बत्ती बल्नुका साथै घरमा भएका रेडियो र टेलिभिजनसमेत चलाउन सकिने जानकारी धौलागिरी सौर्य ऊर्जा कम्पनी शाखा कार्यालय चन्द्रनिगाहपुरका प्राविधिक शिव त्रिपाठीले दिनुभएको छ । रौतहटको पौराई, जुडिबेला, रङ्गपुर, कनकपुर, लक्ष्मिनिया तथा विजयपुर क्षेत्रमा सौर्य प्यानलको आकर्षण बढेको प्राविधिक त्रिपाठीले बताउनुभयो । टुकीमा बस्न बाध्य ग्रामिण भेगका सर्वसाधारणलाई सोलार प्यानलको उज्यालोले केही राहत दिएको छ स्थानिय बासिन्दाहरुको भनाइ छ । प्रारम्भमा सोलार प्यानल खरिद गर्न महङ्गो भएकाले सरकारले सर्वसाधारणलाई राहत दिन आर्थिक अनुदान दिनुपर्ने ग्रामिण भेगका उपभोक्ताहरुको भनाइ छ ।




वर्षौदेखि पिउने पानीको समस्यामा कुदुका बासिन्दा ।।
जाजरकोट
जाजरकोटको सदरमुकाम .सँगै जोडिएको जगतिपुर गाउगाउँ समिति वडा नं ९ कुदुका बासिन्दाले वर्षौदेखि पिउने पानीको समस्या झेल्दै आएका छन् । गाउँमा स्वच्छ पिउने पानीको व्यवस्था नहुँदा कुदुका बासिन्दालाई पिउने पानीको समस्या परेको हो । स्वच्छ पिउने पानीको अभावमा कुदुका बासिन्दाहरु भेरी नदी र खोलाको फोहोर पानी पिउन बाध्य छन् । भेरी नदी तथा नाउलाको फोहर पानी प्रयोग गर्दा झाडापखाला, आउँ, जुका, रुघाखोकीलगायतका रोगले स्थानीय पीडित हुने गरेका छन् । करिब ३ सयभन्दा बढि घर धुरी रहेको गाउँमा लामो समयदेखि खानेपानीका समस्याले पिरोलिरहेको छ ।



विद्यालयको ताला खुल्यो ।।
रौतहट
स्थानीय अभिभावक र व्यवस्थापन समितिबीच विवाद भएका कारण तालाबन्दी गरिएको रौतहटको एक विद्यालयको ताला खुलेको छ । सन्तपुर दोस्तीया गाविस–१ मा रहेको अन्नपूर्ण प्रावि रामदासीमा व्यवस्थापन समिति र स्थानीय बासिन्दाबीच पीसिएफ कोटामा पाएको एक शिक्षकका विषयमा विवाद उत्पन्न हुँदा पुस २१ गते विद्यालयमा तालाबन्दी गरिएको थियो । यसबाट विद्यालयको पठनपाठन अवरुद्ध भएको थियो । व्यवस्थापन समिति र प्रधानाध्यापक नागेन्द्र यादवले रकम लिएर
सूचना नै ननिकाली गोप्य रुपमा बबिता यादवलाई पिसिएफ कोटामा नियुक्ति दिएको भन्दै स्थाीयन मदन यादवसहितका अभिभावकहरुले विद्यालयमा तालाबन्दी गरेका थिए । पुनः सूचना निकालेर सो कोटामा अन्य दक्ष शिक्षक नियुक्ति गर्ने सहमति भएपछि विद्यालयमा लागेको ताला खुलेको जनाइएको छ ।



तीन सय ५० को आँखा परीक्षण ।।
रौतहट
लायन्स क्लब अफ काभ्रे र लाइन्स क्लब अफ काठमाडौको आयोजना तथा गौर आँखा अस्पतालको प्राविधिक सहयोगमा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । सरस्वती उच्च मावि भलहोहियामा भएको आँखा शिविरमा तीनसय ५० जनाले आँखा जाँच गराएका थिए । यस क्रममा दुई सय जनामा मोतिया विन्दु रोग लागेको पाइएको थियो । मोतिया विन्दुबाट ग्रसित बिरामीहरूलाई गौर आँखा अस्पतालले निःशुल्क शल्यक्रिया गर्ने जनाएको छ ।



आफ्नो श्रमलाई उपेक्षा गरेको किसानहरुको गुनासो ।।
सिन्धुली
सिन्धुली डाँडाटोलका किसानहरु ढल्केबर २२० के. बि प्रसारण लाईनले गर्दा तरकारीमा क्षति पु¥याउने होकी भनेर निक्कै चिन्तित बनेका छन् । कृषक समुहले गरेको सामुहिक तरकारी हेर्न पुग्नुभएका कृषि विकास कार्यालयका प्रमुख डोरबहादुर रायमाझी ,अन्य प्रतिनिधी लगाएत पत्रकारहरुको टोलिसँग उहाँहरुले यसलाई अन्तैबाट सारेर लानको लागि पहल गरीदिन आग्रह गर्नुभयो । सामुहिक तरकारी खेतिबाट राम्रो आम्दानी लिन सफल किसानहरुले १० कठ्ठा जमिनमा खेति गरिरहेका छन् । तरकारी खेतिका लागि कृषि विकास कार्यालयले सहयोग गरे पनि अन्य संस्थाहरुले केही सहयोग नगरेको र परिश्रमलाई उपेक्षा गरेको होकी भनेर गुनासो समेत गरेका छन् । आफुहरुले पर्याप्त मात्रमा भौतिक साधनहरु नभएकाले यसलाई बढाएर लान नसकेको बताएका छन् । उनीहरुले कृषि विकास कार्यालयका प्रमुख डोर वहादुर रायमाझीसँग भौतिक सामानहरु उपलब्ध गराईदिन अनुरोध गरेका छन् । तपाईहरुको समस्या लेखेर निवेदन प्रस्तुत गरे आफ्नो तर्फबाट सकेको सहयोग गर्ने रायमाझीले बताउनुभयो । साथै अझै तरकारी खेतिलाई सशक्तरुपममा बढाएर लैजानको लागि पनि पहल गर्ने समेत उहाँले बताउनुभयो । २०६६ साल पुस देखि सुरु गरेका डाँडाटोल कृषक समुहले तरकारी खेतिबाट २ लाख ३४ हजार १३८ रुपैया रकम समुहको कोषमा जम्मा गर्न सफल भएका छन् ।



पँुजीवादी र साम्यवादीले नेपाललाई खोक्रो बनाएको लिङदेनको आरोप ।।
संखुवासभा
पुँजीवादी र साम्यवादीहरूले नेपाललाई खोक्रो र विश्व सामु निरीह बनाएको मञ्च
सम्बद्ध सङ्घीय लिम्बुवान राज्य परिषद्का केन्द्रिय अध्यक्ष कुमार लिङदेनले बताउनुभएको छ । ती सबै एकात्मकवादी भएकोले नेपाल विश्व सामु घुँडा टेक्न बाध्य भएको उहाँले बताउनुभयो । सङ्घीय याक्खा स्वायत्त परिषद्को आज प्रथम जिल्ला सम्मेलनको संखुवासभाको तामाफोकमा उद्घाटन गर्दै लिङदेनले आफूहरू सङ्घीय सहअस्तित्ववादी भएकोले याक्खा स्वायत्त
क्षेत्रको पक्षधर रहेको स्पष्ट पार्नुभयो । पूर्वको ९ जिल्ला लिम्बुवानी भूमि हुने पनि उहाले दाबी गर्नुभएको छ । आफ्नो सङ्गठन माक्र्स र माओको नभएर नेल्सन मण्डेला जस्तो सहअस्तित्ववादीको
पक्षधर भएको उहाँको भनाइ थियो ।




पर्यटन वर्षमा तीन लाख पर्यटक दाङ भित्रिए ।।
दाङ
पर्यटन वर्ष सन २०११ को अवधिभर दाङमा तीन लाख पर्यटक भित्रिएका छन् । पर्यटन
वर्ष मनाउन गठिन मूल आयोजक समिति दाङका अनुसार पर्यटन वर्षको अवधिमा दाङमा आन्तरिक र बाह्य गरी तीन लाख पर्यटकले जिल्लाका विभिन्न पर्यटकीय क्षेत्रको अवलोकन गरेका छन् । जिल्लामा आउने पर्यटकहरुमा करिव ५० हजार तेस्रो मुलुक, डेढ लाख भारतका र एक लाख विभिन्न जिल्लाबाट दाङ आउने पर्यटक रहेको जिविस पर्यटन विकास समितिका सदस्य सचिव डा. गोविन्द आचार्यले जानकारी दिनुभयो । पर्यटन वर्षको अवधिभर दाङको पर्यटकीय क्षेत्रको पूर्वाधार
विकासमा एक करोड रुपैयाँ खर्च भएको जिविसले जनाएको छ । त्यस्तै, साढे दुई करोड रुपैयाँको बजेट पर्यटकीय क्षेत्रको विकासका लागि खर्च भइरहेको जानकारी दिइएको छ । पर्यटन वर्ष सन् २०११ को औपचारिक समापन कार्यक्रम पुस २८ गते तुल्सीपुरमा एक कार्यक्रम गरी पर्यटन वर्षको समापन गरिने भएको छ । त्यस्तै, जिविस दाङले पर्यटन प्रवद्र्धन पत्रकारिता पुरस्कार पनि स्थापना गरेको छ । हरेक वर्ष पर्यटनको विकासका लागि महत्वपूर्ण योगदान गर्ने पत्रकारलाई यो पुरस्कार प्रदान गरिने सदस्य सचिव डा आचार्यले जानकारी दिनुभयो ।


सर्लाहीलगायत तराईमा फेरि जाडो फर्किएपछि जनजीवन कष्टकर ।।
सर्लाही, हरिवन
सर्लाहीलगायत तराई क्षेत्रका बासिन्दा केही दिनयता घाम नलागेर चिसो हुस्सु फैलिन थालेपछि फेरि जाडोको मारमा परेका छन् । बिहानैदेखि लागेको चिसो तुवाँलो साँझसम्म रहेपछि तराई क्षेत्रमा फेरि कठ्याङ्ग्रिदो जाडो बढेको हो । केही दिन अघिसम्म बिहानैदेखि घाम लाग्ने र दिउँसो हँुदै गएपछि निक्कै तातो हुने गरेपछि तराईबासी पातलो कपडाकैभरमा दि कटाउँदै थिए । यस वर्ष छिट्टै जाडो हराएको चर्चासमेत चल्न थालेको थियो । तर केही दिनदेखि फेरि एकाएक चिसोको मात्रा ह्वात्तै बढेर शीतलहर चल्न थालेपछि जनजीवन कष्टकर बन्न थालेको हो ।



अनेरास्ववियु सर्लाहीद्वारा सङ्कलित हस्ताक्षर जिल्ला प्रशासनमार्फत् मन्त्रालयमा ।।
लालबन्दी सर्लाही
भारतमा तीन महिने प्राविधिक शिक्षा अध्ययन गरेर आएका विद्यार्थीहरुलाई १२ कक्षा सरहको मान्यता दिने सरकारको निर्णयको विरोधमा सङ्कलन गरेको हस्ताक्षर अनेरास्ववियु सर्लाहीले आज प्रधानमन्त्री र शिक्षा मन्त्रालयमा पठाएको छ । आफ्नो सङ्गठन विस्तार भएको जिल्लाको ३२ वटा उच्च मावि र ४ वटा क्याम्पसजबाट संकलन गरिएको १० हजार जना विद्यार्थीहरुको हस्ताक्षर जिल्ला प्रशासन कार्यलयमार्फत् मन्त्रालयमा पठाइएको अनेरास्ववियुले जनाएको छ । निर्णयको विरोधमा पुस १७ गतेदेखि २२ गतेसम्म सङ्कलन गरेको हस्ताक्षर अनेरास्ववियु जिल्ला अध्यक्ष सुनिल श्रेष्ठको नेतृत्वमा गएको विद्यार्थीहरुको समूहले सहायक प्रमुख जिल्ला अधिकारी सुन्दरराज अर्यालसमक्ष बुझाएका थिए ।


Don't Miss
© all rights reserved
made with by netKUTI