काठमान्डौ पुस २५ गते ।
उपसमितिमा भएका सहमतिप्रति माओवादीको असन्तुष्ट समूहले विवाद झिकेपछि संवैधानिक समितिको आजको बैठकपनि अनिर्णित भएको छ । माओवादीको घर झगडाका कारण संविधान निर्माण प्रभावित भएको काङ्गे्रसले बताएको छ । संविधानसभा सचिवालय सिंहदरबारमा बिहान बसेको बैठकमा यसअघि उपसमितिमा सहमति भएका तीनवटा सामान्य विषयमा छलफल भए पनि माओवादीको एउटा पक्षले विरोध गरेपछि बैठक विना निष्कर्ष सकिएको काङ्गे्रस संसदीय दलका नेता रामचन्द्र पौडेलले जानकारी दिनुभयो ।
संसदको नाम व्यवस्थापिका संसद राख्ने, संसदको तल्लो सदनको नाम प्रतिनिधिसभा राख्ने र अठार वर्ष पुगेका व्यक्तिलाई वालिग मताधिकार दिने यसअघि उपसमितिमा भएको सहमतिप्रति माओवादीको वैद्य समूहले आज फेरि आपत्ति जनाएको छ । आफ्नै पार्टीका अध्यक्षले गरेको सहमति सदस्यहरुले नमानेपछि अप्ठ्यारो भएको अरू दलले गुनासो गरेका छन ।
विषयगत समितिले सहमति गरेका विषय उपसमितिले उल्टाएकाले आफूहरूले विरोध गरेको माओवादी पोलिटव्युरो सदस्य खड्गबहादुर विश्वकर्माले जानकारी दिनुभयो । कुनै पनि विवादित विषयमा संवैधानिक समितिले मात्र सहमति गर्न सक्ने दावी गर्दै वैद्य समूहले उपसमितिमा सहमति भएका बिषयलाई अन्तिम मान्न नसकिने जीकिर गरेको छ ।
संवैधनिक समितिका सभापति निलाम्बर आचार्यले दलहरुबीच परामर्शको आवश्यक देखिएको बताउनुभयो । संवैधानिक समितिको बैठक यही पुस २८ गते फेरि बस्नेछ ।