निहिता बिश्वास, सोभराजकी पत्नी

भारतमै बसेर स्कुले शिक्षा सकेकी निहिता अहिले काठमाडौंकै एक कलेजमा स्नातक तह अध्ययन गरिरहेकी छिन् । उनले ०६५ असोजमा विजयादशमीको दिन आफूले जेलभित्रै शोभराजसँग विवाह गरेको बताउँदै आएकी छिन् । शोभराज जेल बाहिर निस्केपछि सँगै जिन्दगी बिताउने सपना साँचेर बसेकी निहितासँग जीवनका बिभिन्न पाटोका बिषयमा समयबोधका लागि प्रमिला बानियाँले गरेको अन्तरङ्ग संवाद ।
तपाईको विचारमा जीवन के हो ?
मर्नु अगाडि कुनै पनि त्रुटी नरहोस्, कसैप्रति नराम्रो भावना नरहोस्, मेरा जीवन सफल रहेछ भनेर आँखा चिम्लिन पाउनु जीवन हो । लाष्ट मुमेण्ट अगाडिका लागि गर्नुपर्ने सम्पूर्ण कार्य जीवन हो ।
तपाईंको जीवनमा गहिरो पश्चाताप ?
सर्वोच्चको जज-न्यायाधीश)लाई गाली गर्नु । त्यहाँ मैले ‘ब्लाडी जजेज’ नभनी च्यालेन्ज मात्र गरेको भए माफी माग्नु पर्दैनथ्यो । पब्लिक प्रतिक्रिया माफी नमाग भन्ने थियो । त्यो शब्द प्रयोग नगरेको भए माफी नमागी मेरो लडाइँ अझ बलियो हुन्थ्यो ।
सबैभन्दा बढी खुसी भएको कुनै क्षण ?
धेरै छन् । स्कुल लेबलमा हुँदा एकपटक म्याथमा माक्स कम आएको थियो । त्यसपछि साथीहरूले पनि हेप्न खोज्ने, परिवारमा पनि हेप्न खोज्ने भएपछि मैले रातदिन मेहेनत गरेर एसएलसीमा ९६ नम्बर ल्याएकी थिएँ । मलाई लाग्यो कि मैले जीवनमा ठूलो पाठ सिकेँ । त्यो नै सबैभन्दा खुसीको क्षण हो ।
समय र फुर्सद् पाए नेपालको कुन ठाउँमा गएर समय बिताउन चाहानुहुन्छ ?
आजसम्म डोल्पा, चरिकोट, मुस्ताङ जान पाएको छैन, त्यसैले मलाई त्यहाँ चारपाँच महिना गएर बस्न मन लागेको छ ।
तपाईंको आदर्श व्यक्ति ?
एउटै व्यक्ति जीवनमा परफेक्ट हुँदैन । कुनै पनि व्यक्तिबाट केही सिक्नु र ऊबाट राम्रो कुरा लिनुपर्छ । तर, आजसम्म पनि मेरो यही नै आदर्श व्यक्ति हो भन्ने छैन ।
तपाईं प्रभावित भएको कुनै व्यक्ति ?
अझै सानै छु । म कसैप्रति खासै प्रभावित भएको छैन र त्यो अनुभव पनि गर्न पाएकी छैन । यही नै हो भन्न कठिन छ ।
कुनै यस्तो व्यक्ति जसलाई साथ दिन नपाएकोमा पछुतो छ ?
मेरो श्रीमानलाई गहिरो रूपमा साथ दिन नपाएको भए अनि मेरो मम्मीको लागि बलियो छोरी हुन नपाएको भए पछुतो लाग्ने थियो । तर, मैले साथ दिइरहेको हुँदा कुनै पछुतो छैन ।
तपाईंलाई मनपर्ने खाना ?
मासु एकदमै मनपर्छ । मासुबाहेक केही पनि खाँदिन म । पास्नीको बेलामा पहिले खिर खाएँ रे Û त्यसपछि मासु नभए केही खान सक्दिनँ म ।
खाना पकाउने र भाडा माझ्ने काममध्ये एउटा रोज्नुपरे कुन रोज्नुहुन्छ ?
खाना पकाउने । मलाई खाना पकाउन एकदम मनपर्छ । किनभने मलाई पानीको एलर्जी हुन्छ । पानी त छुनै हुँदैन ।
तपाईंको विदेश भ्रमण ?
काठमाडौं टु दिल्ली त भइनै रहन्छ । त्यति मात्र हो ।
सबैभन्दा बढी विश्वास केमा गर्नुहुन्छ ?
आफैंमा ।
कुनैबेला रुनुभएको छ ?
एकदमै रोएको छु । मनमा कुनै पनि नराम्रो कुरा नहोस् भनेर रोएर निकालिदिन्छु ताकि राम्रो कुरा मात्र बाँकी रहोस् ।
आफ्नै नजरमा तपाईंका तीन कमजोरी ?
एकदमै रुन्छु । मनमा कुरा राख्न सक्दिनँ, आफ्नो अगाडीको व्यक्ति रुँदै केही माग्यो भने नाई भन्न सक्दिनँ ।
ठट्टा/रमाइलो गर्न कत्तिको मन पराउनुहुन्छ ?
अति नै रमाइलो चाहिन्छ मलाई । साथीहरूको मजाक गर्न, दादाहरूसँग चल्न मन पर्छ ।
झुट कत्तिको बोल्नुहुन्छ ?
झुट बोल्छु तर हाँसो उठीहाल्छ, मुख रातो हुन्छ अनि त झुठ बोलेको थाहा भइहाल्छ । त्यही भएर झुठ बोल्न सक्दिनँ ।
साँझपख कुनै युवकले ब्लफ कल गर्यो भने तपाईं के भन्नुहुन्छ ?
मुसुक्क हाँस्छु । अनि बेसरी गाली गरेर राखिदिन्छु ।
बाटोमा हिँड्दा केटाहरूले कत्तिको जिस्काउँछन् ?
पहिले पहिले स्कुल, कलेज जाँदा जिस्काउँथे तर अहिले जिस्काउँदैनन् । त्यो केटीहरूमा भर पर्ने कुरा रहेछ ।
हार्ड ड्रिक्स/धूमपान गर्नुहुन्छ ?
कुनै पनि गर्दिनँ । मेरो मनपर्ने डि्रक्स कोक अनि लस्सी हो ।
मनले चाहेको तर अहिलेसम्म पूरा गर्न नपाएको संकल्प ?
मलाई खेलकुदमा एकदम सौख थियो । खेलकुदमा लागेर ओलम्पिकमा भाग लिने मेरो सपना थियो तर त्यो अधुरै रह्यो ।
पुरुषहरूको सबैभन्दा मन पर्ने आनीबानी ?
प्रोटेक्टिभ । केही पर्यो भने प्रोटेक्सनका लागि फिमेलहरू अगाडि आउँदैनन् तर उनीहरू बाटामा अन्जानै केटी भए पनि ए बहिनी के भयो भनेर सोध्न आउँछन् । त्यो मलाई एकदमै मनपर्छ ।
भर्खरका कलेजका युवतीहरूले दिदी/अन्टी भनेर सम्बोधन गर्दा कस्तो लाग्छ ?
राम्रो लाग्छ । उनीहरूले रेस्पेक्ट दिने काबिल भएछु जस्तो लाग्छ ।
भविष्यमा के हुने ईच्छा छ ?
मुभी डिरेक्टर, सफल लेखक अनि वाईल्ड लाइफ रिजर्भ खोल्ने एकदम चाहना छ ।
चाल्स शोभराजलाई रोज्नुको कारण ?
शोभराजलाई भेटेपछि यस्तो लाग्यो कि ऊ मात्र एक यस्तो व्यक्ति हो, जसले मलाई बुझ्नसक्छ, सम्हाल्न सक्छ । उहाँ त्यही भएर मनपर्यो ।
शोभराजको के कुराले आकषिर्त गर्यो ?
उहाँको बौद्धिकताले ।
शोभराजलाई अपराधीभन्दा कस्तो लाग्छ ?
मनमा चसक्क हुन्छ । तर, मलाई पो थाहा छ ऊ त्यस्तो होइन । मान्छेहरूले पत्रपत्रिकाको आधारमा बोलेको त हो नि ।
शोभराजसँगको सम्बन्ध कहाँ पुग्यो ?
मुद्दाले गर्दा अड्केको अड्कै छ र पनि एकअर्काप्रतिको विश्वास, आशा, समझदारी त्यो बढ्दै गएको छ ।
तपाईंलाई शोभराजको नेपाली श्रीमतीभन्दा कस्तो लाग्छ ?
भन्नेहरूले भन्छन् । नेपाली श्रीमती भन्दा मेरो पनि ऊ फ्रेन्च हसबेन्ड भयो नि । जसले जे भने पनि म उहाँकी श्रीमती हुँ । त्यो नै सबसे ठूलो कुरा हो ।
शोभराजसँग फिजिकल रिलेशन ?
फिजिकल रिलेसन अहिलेसम्म भएको छैन ।
शोभराजलाई कुनकुन समयमा भेट्नुहुन्छ ?
पहिले फ्रिकोइन्टली भेट्न गइरहन्थेँ तर अहिले छैन । मेरो ज्योतिषले तिमीहरूमाथि ठूलो षड्यन्त्र चल्दै छ भनेको हुनाले भेट्न नजानु भन्नुभएको छ । म आफू सेफ भएर उहाँलाई स्ट्रेन्थ दिइरहनु नै बेटर हुन्छ अहिलेको अवस्थामा । यही भएर अहिले गएको छैन ।
फेमिली लाइफको कस्तो कल्पना गर्नुभएको छ ?
मेरो एउटा सुखमय फ्यामेली लाइफ होस्, जीवनमा खुसी मनाउन सक्ने प्लेटर्फम होस् ।
तपाईंको नजरमा प्रेम ?
आफूबाहेक अर्को एउटा व्यक्तिसँग पाउन सक्ने खुसी नै प्रेम हो । आफूभन्दा पनि अर्को एउटा व्यक्ति मेरा लागि खुसी हुन्छ र म उसका लागी खुसी हुन्छु भने त्यो नै प्रेम हो ।
तपाईंले अनुभवमा प्रेम गर्दा र नगर्दाको भिन्नता ?
प्रेमको अनुभव नहुँदा जीवन सरल, कसैको बारेमा सोच्न नपर्ने, रेस्पोनसिविलिटी धेरै नभएको बच्चाजस्तो हुन्छ तर प्रेम गर्दा बढी रेस्पोनसिबल उसको बारेमा पनि सोच्नुपर्ने बेग्लै हुँदोरहेछ ।
सेक्स के हो ?
बायोलजिकल निड हो । त्योबाहेक अरू केही पनि होइन । मनबाट मात्र होइन, शारीरीक रूपमा पनि आफ्नो मायालाई देखाउनु सेक्स हो ।
अनलाइन खबर