काठमान्डौ ७ चैत ।
एकीकृत माओवादी संस्थापन पक्षका नेताहरुबीचको छलफल अहिले केहीबेरमा सुरु हुदैछ । ललितपुर सानेपास्थित एक होटलमा बैठकको लागि अहिले नेताहरु पुग्नेक्रम जारीछ । आजको बैठकमा आगामी केन्द्रीय समितिको एजेण्डाको बारेमा छलफल हुने पोलिटव्यूरो सदस्य शक्ति बस्नेतले जानकारी दिएका छन । उहाँका अनुसार नेतृत्वलाई जानकारी दिएर आफ्नो समूहको छुट्टैछलफल गर्न पाइने व्यवस्था गएको केन्द्रीय समितिको बैठकबाट मिलाइएको भए पनि बैद्य समूहले अपनाएको प्रक्रिया गलत भएको बारेमा संस्थापन पक्षका नेताहरुबीच समान धारणा रहेको छ ।
आफ्नै पार्टी बरिष्ठ उपाध्यक्ष मोहन बैद्यले सार्वजनिक गरेको आन्दोलनको बारेमा छलफल गर्न हिजो बसेको संस्थापन पक्षका नेताहरुको बैठकले बैद्य समूहसँग वार्ता गरेर समस्या समाधानको उपाय खोज्ने जिम्मा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको थियो ।
बैद्य पक्षको आन्दोलन र संस्थापनको आधिकारिक धाराणाको बारेमा नेताहरुले बोल्नेक्रम नसकिएकोले आज पनि बैठक बस्न लागेको हो । ४ दिनअघि बरिष्ठ उपाध्यक्ष मोहन बैद्य समूहले पार्टीको संस्थापन पक्ष र उपाध्यक्ष बाबुराम भट्टराईले नेतृत्व गरेको सरकारविरुद्व आन्दोलनका कार्यक्रम सार्वजनिक गरेपछि माओवादी संस्थापन पक्ष छलफलमा जुटेको हो ।